२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्चीको पानी सुरुङमा पठाइयो, खानेपानीमन्त्रीले गरे उद्घाटन

  • २०७८ चैत्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • चैत २९, २०७८

    चाैतारा । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुन: पथान्तर गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

    उनले भने,‘भर्खरै मात्र पानी सुरुङमा पथान्तरण गरेका छौं । पहिलो चरणको पथान्तरण सुरू भयो ।’

    पानी सुरुङमा पठाउन खानेपानीमन्त्री उमाकान्त चौधरी मुख्य आयोजनास्थल आम्बाथान पुगेका थिए । मन्त्री चौधरीले २६५ लिटर प्रतिसेकेण्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले बताएको छ ।

    गत असार १ को बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । मुख्य मुहानमा क्षतिसँगै मेलम्ची पुन: काठमाडौं ल्याउन सकिन्छ/सकिँदैन अन्योल थियो ।

    बाढीले पुरेको संरचना सफा गरेर अस्थायी रूपमा पानी ल्याउन सकिने भएपछि चैत मसान्तसम्म काठमाडौंमा पानी ल्याउने लक्ष्यका साथ मुहानमा थुप्रिएको गेग्रान हटाउन थालिएको थियो ।

    चैत मसान्तसम्ममा काठमाडौंबासीलाई पानी खुवाउने भनिए पनि केही ढिलो भएको समितिले जनाएको छ । टनेलभित्र लेदो भेटिँदा सफा गर्न समय लागेकोले भोलिबाट पानी पठाएपछि वैशाखको दोस्रो सातोदेखि मात्रै काठमाडौंबासीले पानी खान पाउने कार्यकारी निर्देशक पौडेलले बताए ।

    उनले भने, ‘चैत मसान्तसम्म पानी काठमाडौंबासीलाई खुवाउने लक्ष्य विभिन्न कारणले ढिलो भयो । हामीले सोचेको थिएनौँ । टनेलभित्र लेदो भेटिन्छ भनेर । टनेलभित्र लेदो भेटिँदा हामी दुई-चार दिन ढिला भयौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस