२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसकाे निर्णय

  • २०७८ चैत्र १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • चैत १५, २०७८

    काठमाडौं : नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने नीतिगत निर्णय गरेको छ। शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठक मंगलबार यहि निर्णयसँगै सकिएको छ।

    ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुपमा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ।’  बैठकले निर्णय गरेको छ। 

    तालमेलबारे व्यवहारिक रुपमा निर्णय गर्न केन्द्र, जिल्ला र स्थानीय तहमा संयन्त्र बन्ने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको हो।

    यस्तै, बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति  र पार्टी प्रवक्ता महतको नेतृत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ। समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ ।

    केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ।

    त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ।

    त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ ।

    बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेशसभा संसदीय दल मार्फत आफुले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ बैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस