चैत ४, २०७८
काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको बताए। निर्वाचनका लागि आयोगले सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा त्यसमा सम्बद्ध कर्मचारी प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण तोकेको छ।
आचरणको दफा ९ को (क) मा शिक्षक, कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने उल्लेख छ। (ख) मा कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा त्यसका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने उल्लेख छ।
त्यस्तै (ग) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ।
(च) मा उल्लेख गरिएको छ,‘निर्वाचनको काममा बाहेक कुनै कर्मचारी प्राध्यापक वा शिक्षकको सरुवा वा बढुवा पद स्थापना गर्न गराउन नहुने, तर आयोगले अनुमति लिई प्रचलित कानुन बमोजिम नियमित रूपमा हुने बढुवा तथा पद स्थापना गर्न बाधा पर्नेछैन।’
तोकिएको (छ) को आचरणमा निर्वाचन शिक्षा र प्रचार प्रसार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने उल्लेख छ। त्यस्तै (झ) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने भनिएको छ।
प्रतिक्रिया दिनुहोस