२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हेलम्बुमा १७३ मिटर अग्लो बन्जी बन्दै

  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन १६, २०७८

    चौतारा । हेलम्बु गाउँपालिका–१ मा बन्ने झोलुंगे पुलमा साहसिक खेल ‘बन्जी जम्प’ को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

    पाङगाङ्मा र धवागाङ गाउँलाई जोड्ने गरी निर्माणाधीन ३७० मिटर लामो झोलुंगे पुलमा १७३ मिटर अग्लो बन्जी जम्प निर्माण हुने आयोजनाका सबइन्जिनियर शेरबहादुर राईले बताए । उनका अनुसार दुवैतर्फको मुख्य आधार संरचनाको काम सकिएको छ । लट्ठा र तार टाँग्ने काम भइरहेको छ ।

    प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक पूर्वाधार निर्देशनालयले ५ करोड ३९ लाख रुपैयाँमा उक्त संरचना बनाउन १८ महिनाको समय दिइएको थियो । २०७६ सालमा थलिए पनि मेलम्ची बाढी तथा कोरोना महामारीका कारण हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको राईले बताए ।

    बन्जीको एनएल कन्सल्टेन्सीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो । सरकारको ‘हन्ड्रेड डेस्टिनेसन्स’ मा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बन्जी जम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए ।

    ‘हेलम्बुलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न योजना निर्माण र कार्यान्वयनलाई तीव्रता दिँदै छौं । ग्रेट ट्रेल, बन्जी जम्प, झरना भ्युदेखि गोसाइँकुण्ड जोड्ने पदमार्गलगायत दर्जनौं काम भइरहेका छन्,’ उनले भने ।

    पुल र बन्जीको संरचना तयार भएपछि प्राविधिक व्यवस्था मिलाएर खेलको सुरुवात गरिने उनले बताए । प्रदेश सरकारको लगानी रहे पनि बन्जीको निर्माण र सञ्चालनमा गाउँपालिकाले समन्वय र व्यवस्थापन गरिरहेको छ । हाल जिल्लामै भोटेकोसी गाउँपालिकाको मार्मिङ र लिस्तीकोट जोड्ने आइतबारे पुलमा १६० मिटर उचाइको बन्जी जम्प सञ्चालनमा छ ।

    पुल बनेपछि एक गाउँबाट अर्को गाउँमा पुग्न लाग्ने ५ घण्टाको समय ५ मिनेटमा छोटिने पनि शेर्पाले दाबी गरे । ह्योल्मो जातिको मुख्य बसोबास रहेको हेलम्बु बौद्ध धर्मको दृष्टिकोणमा महत्त्वपूर्ण मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस