फागुन १४, २०७८
चाैतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ खोलाबगरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट इन्द्रावती गापाक्षेत्र जाँदै गरेको बा २ ख ६५८८ नम्बरको बस शनिबार अपराह्न ५:१० मा पल्टिएको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार हेलम्बु यातायातको बस पल्टिँदा घाइते भएका सबैको स्थानीय बोडेगाउँमा अस्पतालमा उपचार भइरहेको छ ।
चालकले खोला बगरको मोडमा पुगेपछि ब्रेक नलाग्दा बस पल्टिएर दुर्घटना भएको थियो । तत्काल स्थानीयले त्यो दृश्य देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । ‘घाइते ११ को स्वास्थ्य अवस्था सामान्य छ, एकको हात फ्याक्चर भएको स्वास्थ्यकर्मीले बताएका छन्,’बस्नेतले भने ।
बगरमा पल्टिएर क्षतिग्रस्त बसका चालक र सहचालक सम्पर्कविहीन भएपछि प्रहरीले खोजिरहेको डीएसपी बस्नेतले बताए । समयमै स्थानीयबाट खबर पाएपछि उद्धार कार्यमा जुटेकोले बसमा सवार सबै यात्रुलाई धेरै चोट नपुगेको उनको भनाइ छ ।
यसअघि इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको खचाखच यात्रु बोकेको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा ११ जनाले ज्यान गुमाएका थिए ।
हेलम्बु यातायातको बस दुर्घटना हुँदा घटनास्थलमै ५, उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो । ३२ सिटको क्षमता भएको बसमा सवार एक सय २० मा ९८ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस