फागुन १४, २०७८
चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनको मिति तय भएको छ।
लामो समयदेखि हुन नसकेको अधिवेशन केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकले फागुन २६-२७ गते गर्ने तय भएको जिल्ला सभापति विकास लामाले बताए।
अधिवेशनमा ढिलाई हुनुमा पार्टी केन्द्र जिम्मेवार रहेको उनको भनाइ छ। २६ गते उम्मेदवारी दर्तासँगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने उनले बताए।
बैठकमा नेता बस्नेतसहित जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह-सचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल लामा, क्षेत्र नं. २ का सचिव केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित थिए।
त्यसो त कांग्रेस सिन्धुपाल्चोकमा क्रियाशील सदस्यको विवादले पार्टी केन्द्रलाई अप्ठ्यारो परेको थियो।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
उनीहरू दुवैजना शेखर कोइराला पक्षका हुन्। देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेत, डा. प्रेमध्वज लामा, व्यापारीद्वय राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन्।
प्रतिक्रिया दिनुहोस