२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

जयनन्द लामा : दुःख बोकेर पनि सधैँ हाँसिरहन्थे, हँसाइरहन्थे

  • २०७८ फागुन ११, बुधबार मा प्रकाशित २ साल अघि
  • फागुन ११, २०७८
    चाैतारा । जयनन्द लामा भन्नेबित्तिकै काँचको पर्दामा देखिने हँसिलो अनुहार स्मृतिमा आउँछ। जो पर्दाभित्र र बाहिर हँसाइरहन्थे, हाँसिरहन्थे। ‘पिरती मैले न लाको होइन, तकदिरमा रैनछ’ भन्दै मन जितेका जयनन्द काँचको पर्दामा पनि उत्तिकै जमेका कलाकार हुन्।

    तर उनको जीवन यात्रा बुधबार अचानक टुंगियो। बुधबार बिहान उनै कलाकार तथा गायकको निधनको खबरले कला क्षेत्र तरगिंत भयो। लामाको निधनले नेपाली कलाका पारखी शोकमा डुबेका छन्।

    लामालाई सम्झिँदै संगीतकार कालीप्रसाद बाँस्कोटा भन्छन्, ‘उहाँले बिन्दास जिन्दगी बाँचेर जानु भयो।’

    बाँस्कोटाले संगीत यात्राका क्रममा लामालाई थुप्रै पटक भेटेका थिए। हरेक भेटमा रसिक सुनिने लामा दुःख बोकेर पनि अरुलाई नसुनाउने स्वभावका भएको बाँस्कोटाले सुनाए।

    उनले लामालाई पछिल्लो पटक ‘सारेगम लिटिल च्याम्स’को सेटमा भेटेका थिए। त्यसपछि भेट्न पाएनन्।

    लामालाई सम्झिँदै बाँस्कोटा भन्छन्, ‘उहाँले कहिले यो नजिकको, त्यो परको भनेर व्यवहार गरेको थाहा छैन। सबैलाई समान व्यवहार गर्ने उहाँ जहाँ पुगे पनि उस्तै देखिनु हुन्थ्यो। आफ्नै शैलीको जिन्दगी बाँच्नुहुन्थ्यो।’

    चलचित्र समीक्षक तथा लेखक सामिप्यराज तिमल्सिनाले लोक गीत, अभिनय, म्युजिक भिडिओ निर्माण र निर्देशनमा लामाको गहिरो योगदान रहेको सुनाए।

    उनले लेखिरहेको स्क्रिप्टमा लामालाई सुहाउने रोल आएको स्मरण गर्दै सुनाए, ‘पढ्नेलाई उहाँको तस्बिर सर्लक्कै आओस् भनेर मैले चरित्र होइन, उहाँकै नाम राखेर लेखिरहेको थिएँ । मैले त्यो नाम फेर्नुपर्ने भयो । कला क्षेत्रले बहुमुखी स्रष्टा गुमायो ।’

    पछिल्लो पटक चलचित्र ‘छक्का पञ्जा ३’ मा लामासँग काम गरेका दीपकराज गिरी उनका हाँस्ने हँसाउने गजबको शैली सम्झना गर्छन्।

    ‘उहाँको त्यो शैली चलचित्रमा पनि प्रयोग गर्यौँ। उहाँको हाँसो सुनेपछि छुट्टै माहोल बन्थ्यो। त्यो अजीवको हाँसो, ती रसिक कुरा, सकारात्मक सोच र त्यो बिन्दासपना कसरी बिर्सन सकिन्छ र,’ उनले भने।

    लामाको निधनले छक्का पञ्जाको चौथो सिरिजमा सँगै काम गर्ने गिरीको सपना अधुरै रह्यो। भन्छन् ‘जीवन, बगैँचामा फुलेको फूल जस्तै हो फूलेपछि झर्नै पर्छ तर सम्झनाका फॉटहरूमा उहाँसँग बिताएका हरेक पल सधैँ फुलिरहनेछन्।’

    चलचित्र निर्देशक तथा संगीतकर्मी नारायण रायमाझी आफू यो क्षेत्रमा आउनुमा लामाको हात रहेको सम्झना गर्छन्।

    ‘सायद उहाँले लिएको रेडियो नेपालको वाद्यवादक परीक्षा, स्वर परीक्षामा म पहिलो पटक, दोस्रो पटकमै सफल भएको भए मैले संगीत साधना हो, जीवन संघर्ष हो भन्ने कुरो बुझ्थेँ या बुझ्दैनथे’, रायमाझी भन्छन्, ‘उहाँ मेरो जीवनको मार्गदर्शक हो। मनभरीका अतीतका सम्झना सबै एकदिन पोखौँला भन्ने धोको अधुरै रह्यो।’

    चलचित्रमा कमेडियन चरित्र निर्वाह गर्न सिपालु लामा पछिल्लो समय नेपाली लोक संगीतले समातेको बाटोलाई लिएर चिन्तित देखिन्थे।

    उनी भन्थे, ‘अहिले त समाचार पनि लोकलयमा गाउन थाले, कविता पनि गीत बनाउन थाले। लोकगीतको मर्म खोज्ने फुर्सद र धैर्य कसैलाई छैन।’

    उनी लोकगीतको नाममा कोठे गीत बजारमा आएको बताउँदै ठेट भाकाको बास्ना नै गायब भएको भनेर मन दुखाइरहन्थे। आजीवन लोक संगीतको सेवामा लागेका लामा भन्थे, ‘व्यापारमा लागेको भए करोडपति बन्थेँ होला, राजनीतिमा लागेको भए ठूलै नेता भइन्थ्यो होला। तर लोकगीतले सर्वहारा सीमित बनायो।’

    लामाको जन्म सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको हो। मिश्रित जातजातिको बस्तीमा हुर्किएका लामा मिश्रित संस्कृति हेर्दै र सुन्दै हुर्किए। उनले सानै छँदा राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउँथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए। त्यही संस्कृतिले तानेर लोक संगीतमा लागेका लामाले थुप्रै हिट गीत गाएका छन्।

    केही समय गायनमा नदेखिएका लामा आफ्नो जीवन कालभरी गाएर नसकिने गीत संकलन गरेर राखेको बताउँथे। केही समयअघि मात्रै ३० वर्ष पहिले संकलन गरेको एउटा गीतको म्यूजिक भिडियो बनाएर सार्वजनिक गरेका थिए।

    उनले आर्थिक अभावका कारण यस्ता थुप्रै गीत चाहेर पनि रेकर्ड गर्न र सार्वजनिक गर्न नपाएको दुखेसो पोखेका थिए। उनले भनेका थिए, ‘यसरी संकलन गरेर राखेका विभिन्न भेकका मौलिक र परम्परागत गीत थुपै्र छन्। जुन दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्न।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस