२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची पुनर्निर्माणस्थलमा खानेपानी मन्त्री छड्केमा गएपछि…

  • २०७८ फागुन २, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन २, २०७८

    चाैतारा ।खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत गरेका छन्।

    असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थलगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै पुननिर्माणस्थल पुगेका हुन्।

    काठमाडौंबाट बिहानै स्थलमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए । 

    बिहानै मन्त्रीको आवगमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पुगेका थिए।

    स्थलगत निरीक्षणमा जानु भएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुननिर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताए। उनले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य  निकै कठिन र चुनौतिपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भए काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताए। उनले जिम्मेवारी पुरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिए। 

    सो अवसरमा मन्त्री चौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्बर सुरुङको, बैकल्पिक डाईभर्सन, सुरुङ गेट, ९ नम्बर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको स्थलगत निरिक्षण गरी जानकारी लिएका थिए। 

    ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ। काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन। 

    ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुंगा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फेड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिले बासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुंगा विष्फोट गरि फोड्ने तयारी भएको बताए। 

    कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौता अनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिए। 

    मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनःनिर्माण गर्न ठेक्का अवधी कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो । मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस