माघ २३, २०७८
काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले देशभरका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।
आइतबार बसेको सिसिएमसीको बैठकले आगामी फागुन १ गतेबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
उनका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्नुपर्ने छ। ‘विद्यालय, विश्वविद्यालय, तालिम सेन्टर केन्द्र जनस्वास्थ्य मापदण्ड पालना गरी फागुन १ गतेबाट सञ्चालन गर्न सिफारिस गरिएको छ,’उनले भनिन,‘१२ वर्ष माथिका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्ष मुनिकालाई आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्नुपर्ने छ।’
त्यस्तै उनले सवारीसाधनमा लगाइएको जोरबिजोर हटाउन पनि सिफारिस गरेको बताइन्। सरकारले कोरोना कारण पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। जोखिम कायमै भएपछि विदा लम्ब्याएर माघ मसान्तसम्म पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस