२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेस जिल्ला अधिवेशन अझै अनिश्चित, यी हुन् सभापतिको दाबेदार

  • २०७८ माघ २२, शनिबार मा प्रकाशित २ साल अघि
  • माघ २२, २०७८

    चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्ला अधिवेशन गर्न पाँचपटक प्रयत्न गर्‍यो। पार्टीको १४औँ महाधिवेशनअघि नै तीनपटक प्रयास भयो। २८ पुसमा सम्पन्न महाधिवेशनपछि दुईपटक अधिवेशन गर्ने भनेर तयारी गरियो। तर, अझै जिल्ला अधिवेशन अनिश्चित छ।

    जिल्ला सभापति विकास लामाले अधिवेशन नहुनुमा पार्टी केन्द्र जिम्मेवार रहेको बताए। क्षेत्र र स्थानीय तहको समायोजन प्रक्रियालाई केन्द्रले बेवास्ता गरेकाले अधिवेशन रोकिएको उनको भनाइ छ।

    त्यसो त कांग्रेस सिन्धुपाल्चोकमा क्रियाशील सदस्यको विवादले पार्टी केन्द्रलाई अप्ठ्यारो परेको थियो। महाधिवेशन सम्पन्न भएपछि क्रियाशील विवाद हट्यो। ‘समायोजन र क्रियाशील विवादले अधिवेशन समयमा हुन सकेन,’ लामाले भने, ‘कोभिडका कारण अब कहिले गर्ने भन्ने पनि टुंगो छैन।’

    कोभिड महामारीको अवस्था हेरेर नयाँ मिति तय गरिने उनले प्रष्ट्याएका छन्।जिल्ला अधिवेशन अनिश्चित बने पनि नेताहरूले सभापतिमा आफ्नो दाबी भने प्रस्तुत गरेका छन्।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

    उनीहरू दुवैजना शेखर कोइराला पक्षका हुन्। देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेत, डा. प्रेमध्वज लामा, व्यापारीद्वय राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस