माघ ११, २०७८
चौतारा । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन्।
सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो।
गत असार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची–१३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर–छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले बताए।
भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिएका छन्।
त्यस्तै फड्केश्वर– छापभञ्ज्याङ सडकका लागि १३ करोड रुपैयाँ विनियोजन भएको बताउँदै उनले काठमाडौं डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गरिने जानकारी दिए।
साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताएका थिए। हिउँदमा अस्थायीरूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस