चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, नस, गुट्खा जस्ता धुँवारहित रुपमा सेवन गर्ने सुर्तीजन्य पदार्थमा लत लगाउने रसायन निकोटिन हुन्छ । यसले क्षणिक रुपमा जाँगर जगाइराख्ने, मन स्थिर राख्ने, रिस घटाउने, तौल घटाउनेजस्ता केही भ्रामक असरहरु देखाउँछ । स्नायुकोष र विविध अवयवमा असर पारेर सेवनसँगै चाँडै यसले बढी मात्राको सेवन गर्नुपर्ने, तलतल लाग्ने, सेवन छोड्दा छटपटी हुने र थप सेवन गर्न वाध्य पार्ने जस्ता दुव्र्यसनका लक्षण पैदा गर्छ ।
निकोटिनका साथमा यी पदार्थमा अरु सयौँ हानीकारक रसायनहरु ९जस्तैः टार, एमोनिया, आर्सेनिक, कार्बनमोनोअक्साइड आदि० हुन्छन् । ३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने ‘बेन्जोपाइरिन’जस्ता क्यान्सर कारक रसायनले हुने देखिएकोछ । फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला, कलेजो र अरु धेरैखालका क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ । क्षयरोग, पाठेघरको क्यान्सर, मोतीविन्दु जस्ता धेरै स्वास्थ्य समस्यासँग सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएको छ ।
यहाँ, निकोटिनको लत छुटाउन सहयोगी हुने केही उपायहरु सुझाइएको छ ।
१. जानकारीः अम्मलीहरुले सबभन्दा पहिले यसबाट के–कस्ता असर हुन्छन्, यसको लत छुटाउने विधिहरु के–कस्ता छन् भन्नेबारेमा जानकारी लिनुपर्छ ।
२. उत्साहः नकारात्मक असर बुझ्दाबुझ्दै पनि धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका हुन्छन् । यो अम्मल छाड्ने कुरामा व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक सबैले महत्वका साथ उत्साह जगाउनुपर्ने हुन्छ । प्रायः मानिसले लत छुटाउन पहिले पनि कोसिस गरिसकेका हुन्छन्, तर पनि हरेक पल्ट नयाँ तरिका, उत्साह, उमङ्ग र जोसका साथ यो प्रयासमा लागिरहन जरुरी हुन्छ ।
३. साथ–सहयोगः यसमा परिवार, साथीभाइ, सहकर्मी सबैले आवश्यक जानकारी, सरसल्लाह र अरु सहयोग जुटाउनुपर्छ ।
४. सेवन छाड्ने मितिः विशेष अवसर, पवित्र दिवस पारेर सार्वजनिक बनाएर शुभचिन्तकहरुलाई खुशीका साथ आफ्नो योजना भन्ने गर्दा फाइदा हुन्छ ।
५. निगरानी र फलोअपः सुरुका दिनमा फेरि सेवन हुने डर भएकाले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप गर्नु गराउनु राम्रो हुन्छ ।
६. चिकित्सा सेवाः कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिको चयन गर्न, यसबारे रहेका खुल्दुली मेट्न र पुनः प्रयोग गरिने उच्च खतराका स्थितिहरु चिनेर अपनाउन सकिने उपायबारे जानकारी लिन दक्ष चिकित्सकको सल्लाह उपयोगी हुनेगर्छ ।
७. व्यावहारिक तरिकाहरुः यस्ता पदार्थ खल्तीमा बोकेर हिँड्न, सजिलै पाउनेगरी आँखा अगाडि राख्न छाड्नुपर्छ । बिहान उठ्नासाथ, खाना खानासाथ वा प्रायः तलतल लाग्ने अरु समयमा अन्य कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ । शारिरीक व्यायाम, खेलकुद, प्रार्थना, योग, ‘जगङि’ आदि गर्न सकिन्छ ।
८. मनोसामाजिक पहुँचः विभिन्न मनोवैज्ञानिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थितिहरु सामना गर्न र मनमा सकारात्मक विचार बनाइराख्न सघाइन्छ ।
९. वैकल्पिक उपचारः ई–सिगरेट, जडिबुटी, अकुपञ्चर, लेजर, सम्मोहनजस्ता विविध वैकल्पिक विधिहरुको प्रभावकारिताबारे अध्ययन जारी छ । विविध उपचार प्याकेज र विधिहरु पनि प्रचलनमा आएकाछन् ।
२०७४ कार्तिक २९ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस