२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

नेकपा एसको आरोप : दलाल पुँजीवादीले व्यवसायीको मनोवल गिराउन खोजे

  • २०७८ माघ ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • माघ ९, २०७८

    चौतारा । सत्तारुढ नेकपा एकीकृत समाजवादीले गुणस्तरहीन विषाक्त मह उत्पादन तथा विक्रीवितरणमा संलग्न व्यवसायी नरेश श्रेष्ठको फोटो सन्चारमाध्यम र सामाजिक सन्जालमा राखेर चरित्रहत्या गरिएको भन्दै मानहानीको अभियोगमा कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

    नेकपा एसका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेलले आइतवार प्रेस वक्तव्य जारी गर्दै सन्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्तालाई तत्काल माफी माग्दै समाचारका क्रममा राखिएको फोटो हटाउन अनुरोध गरेका छन् ।

    गत शुक्रवार करीव ७ हजार किलोग्राम विषाक्त मह र नक्कली मह बनाउने कच्चा पदार्थसहित महानगरीय प्रहरी अपराध महाशाखाले ज्याठाका मह उत्पादक व्यवसायी नरेश श्रेष्ठलाई पक्राउ गरी प्रमाणसहित तस्बिर सार्वजनिक गरेको थियो ।

    प्रहरीले आफ्नो फेसबुक पेजमा राखेको विवरण र तस्बिरका आधारमा सन्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका थिए भने सामाजिक सन्जालमा पनि तिनै तस्बिर र समाचार भाइरल भएका छन् ।

    प्रेस विज्ञप्ति

    मिति २०७८ माघ ७ गते शुक्रबारदेखि काठमाडौंको ज्याठास्थित एक सहकारी सञ्चालक तथा मह उत्पादक उद्योग व्यवसायी नरेश श्रेष्ठलाई महानगरीय प्रहरीको टोलीले पक्राउ गरेको घटनासँग जोडेर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हाम्रो पार्टीको नेताहरूकोसमेत फोटो जोडी गरिएको गैरकानुनी कृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य खोजी हुँदैछ । यो विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार कारोवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ ।

    दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिष्प्रधात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसाबले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएको छ । हाम्रो पार्टी जनस्वास्थ्यमा प्रतिकुल असर पार्नेकुनै पनि व्यवहार, प्रचलित कानुन र व्यवसायीक मर्यादाविपरीतका हरेक कार्यप्रति निर्ममतापूर्वक लड्दै कोही पनि निर्दोषमाथि शक्तिको दुरुपयोग गरि हुनसक्ने अन्यायप्रतिसमेत सचेत रही समाजमा सुशासन कायम गराउन दृढ रहेको छ ।

    कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी रोज्न पाउने नैसर्गिक अधिकार रहेको र व्यक्तिगत व्यवसायिक क्रियाकलापलाई जोडेर कुनै पनि सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तासमेतले पार्टीको बद्नाम गराउन खोज्नु तथा पार्टीका अन्य नेतृत्वको फोटो जोडेर प्रचार गर्नु अनैतिक, गैरकानुनी र पत्रकार आचारसंहिता विपरीत रहेकोले सो सम्बन्धमासमेत प्रशासनलाई ध्यानाकर्षण गराउँदै त्यस कार्यमा सम्बद्ध सम्बन्धित सञ्चार हाउस तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तत्काल सार्वजनिक रुपमा माफी मागी समाचारका क्रममा राखिएको फोटो हटाउन अनुरोध गर्दछौँ । अन्यथा मानहानी विरुद्धको कानुनी उपचारमा जान बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।

    नवराज पौडेल अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, सिन्धुपाल्चोक ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस