२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नति सुरु, १० करोड लागत अनुमान

  • २०७८ माघ ५, बुधबार मा प्रकाशित २ साल अघि
  • माघ ५, २०७८

    चौतारा । ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले मङ्गलबार सो सडकको शिलान्यास गर्नुभएको हो ।

    शिलान्यासको अवसरमा अध्यक्ष तामाङले ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन यो सडकले सहयोग गर्ने जानकारी दिए। उनले गाउँपालिकाका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति र कालोपत्र गरिँदै लैजाने जानकारी दिँदै धमाधम काम भइरहेको उल्लेख गरे।

    सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा सो काम सुरु गरिएको हो । सो सडकको स्तरोन्नति पश्चात गाउँपालिकाको ७ वटा वडाले प्रत्यक्ष रुपमा लाभ लिनेछन् ।

    सडक र नाला निर्माणपछि त्यस क्षेत्रमा आवतजावत सहज हुने बताइएको छ । सो सडकको स्तरोन्नतिका लागि मूल्य अभिवृिद्ध करसहित १० करोड ९ लाख ९ हजार ८५१ लागत अनुमान रहेको छ ।

    सो लागतमा ईन्द्रावती गाउँपालिकाको पाँच करोड ९४ लाख ९ हजार ८५१ र सङ्घीय सरकारको समपुरक अनुदान चार करोड १५ लाख रहेको छ । ज्यामीरेमाने नवलपुर सडक स्तरोन्नतिमा बाटो चौडा गर्ने, प्लम क्रङक्रिटको नाली बनाउने, ढुङ्गाको सोलिङ, गाभ्रेल, स्टोन मेसिनरी तथा ग्याबिन वाल लगाउने, ह्युमपाइप हाल्ने र बाटो ढलानको काम रहेको छ ।

    सो बाटो निर्माणका लागि श्री घिसिङ÷युएण्डएस जेभी, माझिफेदा काभ्रेले सम्झौता गरेर काम सुरु गरेको छ । निर्माणको जिम्मा पाएको कम्पनीले पाँच करोड २१ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता गरेको छ ।

    गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद शर्माले गाउँपालिकाद्वारा भएका महत्वपूर्ण कार्यक्रम र हालसम्म हासिल गरेका मुख्यमुख्य उपलब्धिमध्ये यो सडक पनि रहेको जानकारी दिए। सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस