२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘माओवादी आम भुइँमान्छेहरूको एजेन्डा बोक्ने पार्टी हो’

  • २०७८ पौष ८, बिहिबार मा प्रकाशित २ साल अघि
  • पुस ७,२०७८

    चाैतारा । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित बाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुस ११ देखि १३ गतेसम्म हुन गइरहेको राष्ट्रिय सम्मेलनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको नेतृत्व श्रृंखला तयार पार्ने बताएका छन्।

    ‘यो सम्मेलनले प्रचण्डपछि पार्टीको नेतृत्वमा को आउनेछ भनी सक्षम उत्तराधिकारी निर्माणको प्रक्रिया थालनी गर्नेछ,’ उनले भने, ‘सम्मेलनले प्रचण्डको विकल्प खोज्दैन। उनीपछि नेतृत्वमा आउने उत्तराधिकारीहरूको श्रृंखला तयार पार्नेछ।’

    ‘सम्मेलनले एउटै व्यक्तिलाई प्रचण्डको उत्तराधिकारी भनेर निर्क्यौल गर्दैन, बरू उत्तराधिकारीहरूको पंक्ति निर्माण गर्नेछ,’ उनले भने।

    सोमबार भएको बाग्मती प्रदेश निर्वाचनबाट अध्यक्षमा निर्वाचित पौडेलले सहमतिको प्रयास सफल नभएपछि मात्र अन्तिम विकल्पका रूपमा निर्वाचन गर्नुपरेको पनि बताएका छन्। जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा नेतृत्व चयन गरिनुलाई ‘टिके प्रथा’ भन्न नमिल्ने उनको भनाइ छ।

    ‘हामीकहाँ सबभन्दा बढी जनवादी अभ्यास जनयुद्धमा भयो। एउटा व्यक्तिलाई विभिन्न क्रियाकलापका आधारमा मूल्यांकन गरेर निर्णय गर्ने प्रक्रिया हामीले अवलम्बन गरेका हुन्थ्यौं,’ उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि त्यो आदर्श अलिकति स्खलित भएर गएको छ। ढ्वाङ थापेर जसले धेरै मत ल्याउँछ त्यो मात्रै अब्बल हो भन्ने सिद्धान्तमा हामी आज पनि विश्वास राख्दैनौं।’

    नेतृत्वमा पुग्ने व्यक्तिको निरन्तरता कति छ, अनुशासन कति छ, पार्टीको नीति तथा कार्यक्रमहरूमा प्रतिबद्धता कति छ भन्ने महत्वपूर्ण रहेको उनले बताए। यी सबै मूल्यांकनसहितको चुनावी प्रक्रिया आफूहरूले स्वीकार गरेको उनको भनाइ छ।

    माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेर हामीले माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीसँग गरेको कुराकानीका अंश यस प्रकार छन्:

    • माओवादी पार्टीमा यसअघि नभएको कुरा चुनाव मात्रै हो। कुनै पनि नेतृत्वबारे छलफल र बहस गरेर मात्रै निर्णय गर्ने विधि यसअघि भएको हो। कुनै एउटा व्यक्तिले मात्रै टीका लगाएर नेतृत्वमा ल्याउने भन्ने हाम्रो नीति होइन।
    • सम्बन्धित कमिटीका साथीहरूलाई म आरोपित गर्दिनँ तर त्यो प्रचण्डको मात्रै समस्या होइन। तलका कमिटीहरूले आफ्नो निर्णय प्रक्रियाका लागि समग्र रूपले जनवाद प्रयोग गरेर विभिन्न कोणबाट उनीहरूको मूल्यांकनको विधि र व्यापक मात्रामा छलफल तथा निर्णय गर्ने हिम्मत राख्नुपर्छ। कमिटी छानेपछि त्यसलाई यसो गरौं कि त्यसो गरौं भनेर नेतृत्वप्रति नै भर परेपछि नेतृत्व विवादमा आउँछ। अहिले नेतृत्व विवादमा आएको अध्यक्ष प्रचण्डको चाहनाका कारण होइन।
    • अध्यक्षसँग राय लिने हुनसक्छ तर व्यक्तिकै बारेमा के गरौं भन्ने र टक्रयाउन जाने काम गर्नु हुँदैन। यसले प्रचण्डलाई नै विवादमा पारेको छ।
    • बागमती प्रदेशको पार्टी नेतृत्वको निम्ति हामीले आ-आफ्ना तर्क प्रस्तुत गर्यौं। सबैले तर्क प्रस्तुत गर्दै जाँदा, छलफल गर्दै जाँदा ठिकै छ भनेर हामी दुई जनामा केन्द्रित भयौं। हामी दुवैले आफ्ना दाबी प्रस्तुत गर्यौं। हामीले एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन प्रक्रिया अपनाएका हौं।
    • यो सम्मेलनले माओवादीलाई अहिलेसम्म भएका वैचारिक श्रृंखलाहरूमा केन्द्रीकृत गर्छ। शान्ति प्रक्रियामा आएपछि विशेष गरेर विचारलाई केन्द्रीकरण गर्ने प्रक्रिया हामीले छाडेका छौं। २०५२ सालयता हामीले देशमा जे एजेन्डा प्रस्तुत गर्यौं, यो देश मूलत: त्यही एजेन्डामा हिँडेको छ। तर आज माओवादीलाई विचारै सकिएको पार्टी भन्ने खतरा बढेको छ।
    • माओवादी पार्टीले अहिलेसम्म देशमा लागू भएका एजेन्डालाई एउटा विचारका रूपमा केन्द्रीकरण गर्छ। नेतृत्व केन्द्रीकरण भनेको के हो, कस्तो सिद्धान्त हो भन्ने कुरालाई हामी बहसमा ल्याउँछौं।
    • आठ लाख सदस्य भएको पार्टीलाई जनतामा पुर्‍याउन कसरी व्यवस्थित ढंगले काम गर्ने भन्नेमा व्यापक छलफल हुन्छ। त्यही ढंगले कार्यकर्ता परिचालन गर्ने प्रक्रिया अघि बढाउँछौं।
    • हामी अहिले यात्रामा छौं। माओवादी आम भुइँमान्छेहरूको एजेन्डा बोक्ने पार्टी हो। हामी यो यात्रामा क्रमश: आइरहेका छौं। राजतन्त्र अन्त्य भयो, संघीयता कार्यान्वयनमा आएको छ। अहिले भएको संघीयता र गणतन्त्र कसरी जनतामा पुर्‍याउने भन्ने काम बाँकी छ।
    • हामी जनताको समाजवादको मोडेल कस्तो हो भन्ने विचार निर्माण गर्छौं। अबको सम्मेलनपछि अर्को सम्मेलनसम्म आउँदा प्रचण्डको विकल्पमा नेतृत्व पंक्ति तयार छ भन्ने बनाउन सकिन्छ। सेताेपाटीबाट
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस