पुस ३, २०७८
चौतारा । एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठूलो ८० फिट उचाइको बुद्ध मूर्ति शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा उक्त बुद्ध मूर्तिको शिलान्यास गरिएको हो ।
पाँच करोडको लागतमा बन्ने उक्त मूर्तिको शिलान्यास पूर्वकानुनमन्त्री तथा नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गरेका हुन् । ढुङगामा छिनो र हम्मरले हानेर बुद्ध मूर्तिको शिलान्यास गरिएको थियो ।
दुई वर्षभित्रमा मूर्तिको निर्माण सकिने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत बढाउने लक्ष्य गाउँपालिकाको छ । मूर्ति निर्माणलगायत वरिपरिको संरचना निर्माणका लागि रु १० करोड लाग्ने छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मूर्ति निर्माणको जिम्मा लिएको छ । मूर्तिलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसका लागि सबैको सहयोग चाहिने प्रतिष्ठानका कुलपति लामाले बताए । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तामाङले पाँचपोखरीलाई पुग्ने सम्पत्ति यसै ठाउँबाट कमाउन सकिने बताए ।
उनले भने, यहाँ पर्यटन प्रवद्र्वन भएपछि यहाँका सामान बिक्नेछन्, नागरिक समृद्व बन्नेछन् ।
ढुङ्गामा मूर्ति कोर्न मात्रै रु दुई करोड लाग्ने गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। यसवर्ष मूर्ति कुँद्नका लागि गाउँपालिकाले रु ५२ लाख बजेट विनियोजन गरेको लामाले बताए ।
यस मूर्तिले गाउँपालिका मात्र नभई सिङ्गो नेपालकै प्रतिष्ठा बढाउने छ”, लामाले भने । मूर्ति वरिपरि कन्फरेन्स हल, रेस्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा वरिपरि सानासाना मूर्ति रहने लामाले जानकारी दिए। यहाँको संरचना हेर्न आउने व्यक्ति छुट्टै संसारमा पुगेको अनुभूति गराउने लक्ष्य रहेको लामाले बताए।
बुद्ध मूर्तिको निर्माणले विश्वमा शान्तिको सन्देश जाने धर्म गुरु खेम्पो निमा ढिन्डुपले बताए। “बुद्ध मूर्तिले विश्वमा शान्ति छाओस् भन्ने कामना गरेको छु”, उनले भने।
प्रतिक्रिया दिनुहोस