मंसिर १६, २०७८
चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्क ले स्थानीयमा त्रास बढाएको छ । बाँदर, दुम्सी , बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् ।
गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा गोरु,बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य छन् ।
मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीय सुनिल कुमार भण्डारीले जानकारी दिए । धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ।
विद्यालय जाने स-साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको उनले बताए। ‘गोठमै आएर गाईबस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् ।
घरदेखि विद्यालय जान धेरै डर लाग्ने गरेको विद्यार्थी सुजन भण्डारीले गुनासो गरे। ‘बाघ कतै लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।’ भण्डारीले भने, ‘साँझ ६/७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल भएको छैन।’
सम्पत्तिको नाममा रहेको एउटा भैँसी पनि बाघले खाएपछि मेलम्ची ९ का ओम बहादुर भण्डारी चिन्तित छन्। समस्याको दिगो समाधानको लागि स्थानीय तह लगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन्।
क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने वडा अध्यक्ष कमल बहादुर खड्काले बताए। दिगो समाधानका लागि पहल गरिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस