मंसिर १३, २०७८
चाैतारा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने ५३ जनाको नाम निर्वाचन मार्फत टुङ्गो लागेको छ ।
देउवा समुहबाट केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत र पौडेल समुहबाट जिल्ला सभापति विकास लामाले नेतृत्व गरेको सिन्धुपाल्चोकमा देउवा पक्षको बाहुल्यता देखिएको छ ।
दुइवटा प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ मा बस्नेत समुहबाट बालकृष्ण बस्नेत प्यानल सहित क्षेत्रीय अध्यक्ष बनेका छन् भने क्षेत्र नं. २ मा लामा समुहबाट प्यानलसहित आइतमान तामाङ अध्यक्ष बनेका छन् ।
क्षेत्रीय अध्यक्षमा दुवै समुहबाट एकएकजना निर्वाचित भएको भएपनि महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष(देउवा समुह) बाट ३३ जना र संस्थापन इतर(पौडेल समुह) बाट २० जना चुनिएका छन् ।
क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सो क्षेत्रबाट संस्थापनइतर पक्षका दोर्जे लामा मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । क्षेत्रीय सभापति १ सहित २६ जनाले सो क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
क्षेत्र नम्बर २ मा भने संस्थापन इतर पक्षबाट जिल्ला अध्यक्ष विकास लामा सहित १८ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सो क्षेत्रबाट ७ जना संस्थापन पक्षका उम्मेद्वार निर्वाचित भएका छन् ।
यो समिकरण अनुसार काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट ३३ जनाले प्रतिनिधित्व गर्ने भएका छन् भने संस्थापन इतर समुहबाट २० जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस