२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चुनावले बढायो आर्थिक कारोबार

Thumbnail
  • २०७४ कार्तिक २७, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

     प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ ।

    गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ । उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका   छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन् ।

    दशैँ तिहारपछि प्रायः सुनसान बनेका बजारमा अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको छ । बजारका स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेकोे छ । चुनावका कारण आर्थिक गतिविधि वृद्धि भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । राजनीतिक दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफलजस्ता गतिविधि बाक्लिएपछि बजारमा आर्थिक कारोबारमा वृद्धि भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । वडा तहदेखि गाउँपालिका हुँदै नगरक्षेत्रसम्मनै दलका उम्मेदवारहरु आफ्ना एजेण्डाहरु सुनाउँदै घरदैलो गर्दैछन् ।

    ‘नेता कार्यकर्ताको उपस्थितिले दुर्गम गाउँका टुक्रे बजारमा समेत व्यापार बढेको छ’, श्रेष्ठले भने । चुनावी अभियान बढेसँगै ग्रामीण क्षेत्रका सामान्य होटल, किराना पसल, सहकारी, बैंक, यातायात व्यवसायी, ब्यानर छपाइ, इन्धन बिक्री, खसी तथा कुखुरापालक किसानलगायतको व्यापार बढेको व्यवसायी बताउँछन् । जिल्लामा मूख्य प्रतिस्पर्धी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दैनिकजसो चुनावी कार्यक्रम भइरहेका छन् ।

    अन्य साना दलले पनि दैनिक चुनावी प्रचारका कार्यक्रम गरिरहेका छन् । त्यस्ता कार्यक्रम लिएर उम्मेदवारहरु दुर्गम गाउँका चोक–चोकसम्म पुगेका छन् । यसरी गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले खाँदा, हिँड्दा गाउँका साना व्यवसायीको समेत व्यापार बढेको छ । चुनावमा आफ्नो पक्षमा बढीभन्दा बढी मत पार्नका लागि पनि नेताहरुले यो बेला बढी खर्च गर्ने गरेका छन् ।

    चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको चौतारा साँगाचोकगढी नगरपालिका– ८ की तेजकुमारी गिरीले बताइन् । ‘गाउँमा चुनावी चहलपहल शुरु भएको छ’, उनले भनिन्, ‘धेरैले त अधिकांश दिन गाउँ डुलेरै बिताइरहेका छन् ।’

    दैनिकजसो सवारी लिएर नेताहरु गाउँ डुल्न थालेपछि सवारीधनीको व्यवसाय पनि ह्वात्तै बढेको छ । बैंक, सहकारी, साहु तथा अन्य वित्तीय संस्थाबाट ऋण लिएका सवारीधनीलाई चुनावको आम्दानीले किस्ता र ब्याज बुझाउन सजिलो भएको यातायात व्यवसायी सागर तामाङले बताए । चुनावी चर्चाले होटलको अवस्था नै परिवर्तन हुन पुगेका उदाहरण पनि यहाँ देखिएका छन् ।

    वर्षौंदेखि सदरमुकाम हुँदा अड्किएको अधिकार सबै गाउँमा गएपछि गाउँमा यसै पनि व्यापारिक चहल पहल बढेको थियो । अहिले चुनावी कार्यक्रमले झनै कारोबार वृद्धि गराएको बाह्रविसेका होटल व्यवसायी इश्वरलाल श्रेष्ठले बताए । उनको चण्डेश्वरी होटलमा अहिले दैनिक विविध प्रकारका रक्सी, खाजा नास्ता तथा पेय पदार्थको व्यापार बढेको छ ।

    बजार क्षेत्रका होटलमा समेत नेता कार्यकर्ताको भीडभाड बढेकाले कारोबार वृद्धि भएको छ । होटलमा नेता कार्यकर्ताको चहलपहल बढेपछि कारोबार पनि वृद्धि भएको सुकुटे बीच रिसोर्टकी लक्ष्मी थापाले बताईन् । होटलमा मासु खाना, पेय पदार्थ तथा मादक पदार्थसमेतको कारोबार निकै बढेको उनको भनाई छ ।

    बाह्रविसे, खाडिचौर, बलेफी, जलविरे, मेलम्ची लगायतका जिल्लाको मूख्य बजारका होटलमा अहिले नेता कार्यकर्ताको भीडभाड छ । पार्टीका कामले गाउँका नेतासमेत बजार क्षेत्र बसेका छन् । चुनावमा सबैभन्दा धेरै खर्च खाना, खाजा र पेय पदार्थमै हुने गरेका छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस