खबरज्योति
२७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
आगामि मंसिर १० गते हुन लागेको निर्वाचनको मिति नजिकिदै गर्दा सिन्धुपाल्चोकका मतदाताहरुले जिल्लाको विकास र सम्वृद्धिमा लाग्ने व्यक्तिले चुनाव जित्नु पर्ने भन्दै त्यस्ता उम्मेदवारको पक्षमा लाग्ने बताएका छन् ।
मत माग्न मतदाताका घरदैलो पुग्ने गरेका उम्मेदवारहरुलाई जसले संमृद्धि र विकासको पक्षमा काम गर्छन् उनीहरुलाई मत दिने उनीहरुले बताउने गरेका हुन् । यस अघि निर्वाचित भएका उम्मेदवारहरुले चुनावको समयमा गरेको वाचा पूरा गर्न नसकेका कारण आजित भएका उनीहरुले यस पटक भने जिल्लाको विकास र संवृद्धिमा ध्यान दिने व्यक्तिलेनै चुनाव जित्नु पर्ने बताएका हुन् ।
तीन नगरपालिका र ९ वटा गाउँपालिका रहेको सिन्धुपाल्चोकका लागि आगामी निर्वाचनमा प्रतिनिधि सभा तर्फं २ र प्रदेश तर्फ चार जना गरी ६ सिटका लागि निर्वाचन हुन गईरहेको छ । ति ६ वटै सिटमा निर्वाचित हुने प्रतिनिधिहरु ईमान्दार पूर्वक जिल्लाको विकासमा लाग्ने खालको हुनु पर्ने र आआफूहरुले पनि त्यस्तै खालको उमेदरलाई मतदान गर्ने कुरामा पनि मतदाताहरुको जोड छ ।
विकास निर्माणसंगै संविधान सभाले जारी गरेको नयाँ संविधानलाई पनि इमान्दार पूर्वक कार्यान्वयन गर्न सक्ने खालको आफनो उम्मेदवारनै भोलीको जनप्रतिनिधि हुनु पर्ने भन्दै आआफूहरुले पनि सोहि अनुसारको व्यक्तिलाई मतदान गर्ने मतदाताहरुको भनाई रहेको छ । ‘गाउँको विकास गर्ने र हाम्रो संमृद्धि चाहाने उम्मेदवारलाई भोट हाल्छौं’, चौतारा साँगाचोकगढी नगरपालिका– ४ का ३२ वर्षिय मतदाता भोजबहादुर कामी भन्छन्– ‘विकास नगर्ने उम्मेदवारलाई जिताएर केहि काम छैन ।’ अरु भन्दा वाम गठबन्धनका उम्मेदवारप्रति उनको बढी अपेक्षा छ । ‘हामीले वाम गठबन्धनको उम्मेदवारले केहि गर्लान की भन्ने आस गरेका छौं, हेरौं के गर्छन्’, उनी भन्छन् ।
राजनितिक दल र तिनका उम्मेदवारहरुको इमान्दारिता र जनताप्रतिको जवाफदेहितालेनै जिल्लाको विकासले गति लिने त्रिपूरासुन्दरी गाउँपालिका– ५ की मतदाता रेश्मा श्रेष्ठले बताईन् । उनको अनुसार चुनावको समयमा उम्मेदवारले दर्जनौ किसिमका वाचा गरेका छन् । डायरीमा समेत टिपोट गरेको वाचालाई निर्वाचनवाट जितेर गएपछि सोहि आधारमा पूरा गर्नका लागि उनीहरुको क्रियाशिलता भएमा जिल्लाको विकासले गति लिने पनि उनले बताईन् ।
अघिल्ला पटकहरुमा उम्मेदवारहरुले चुनाव जितेर गएपछि नफर्कने र जनताको सुख दुःख नबुझ्ने गरेका कारण जनतालाई साथ दिने उम्मेदवार लाई मात्र भोट हाल्नु पर्ने जुगल गाउँपालिकाका मतदाता हिमाल पाख्रिन बताउँछन् । ‘जसले जनतासँग प्रत्यक्ष सरोकार राख्छ, उनीहरुको सुख, दुःखमा साथ दिन्छ त्यस्तो उम्मेदवारलाई जिताउनु पर्छ’, तामाङ भन्छन् ।
जिल्लाको अधिकांश स्थानमा खानेपानी र सडकको समस्या रहेको स्मरण गर्दे उनीहरुले यसको समाधानका लागि पनि कृयाशिल हुने व्यक्तिनै आआफूहरुको जन प्रतिनिधिको रुपमा निर्वाचित हुनु पर्ने कुरामा जोड दिए । लोकतन्त्रको स्थापना पछि पनि मतदाताहरुका चाहनाहरु पूरा हुन नसकेकोमा चिन्ताव्यक्त गदै उनीहरुले आगामी निर्वाचनमा त्यहि खालको व्यक्तिलेनै जित्नु पर्ने कुरामा जोड दिएका छन् ।
२ सय ८५ वटा मतदान केन्द्र रहेको सिन्धुपाल्चोकमा यस पटक २ लाख २६ हजार ५ सय ४० जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस