कार्तिक ३० गते, २०७८
चौतारा : मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध आज नेपाल बन्द गरेको छ।
नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । उपत्यकाभित्र सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । तर, लामो दुरीको सवारी साधन चल्न सकेका छैनन् । सार्वजनिक यातायातको साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् ।
लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । सिन्धुपाल्चोक जिल्लाभित्र र बाहिर जाने गाडीहरु चलेका छैनन् । निजी केही सवारी साधन बाहेक प्रायः सबै बन्द छन्।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् ।
पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न गरेको थियो।
सिन्धुपाल्चोक जिल्लामा हालसम्म कुनै अप्रिय घटना घटेको छैनन । तर, देशभर बन्द गर्न हिँडेका केही नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस