कात्तिक २३, २०७८
चाैतारा : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ खार्चुङका ७३ वर्षीय केसाङ लामाको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका-१ सिन्द्रीघाङका ३० वर्षीय दावादोर्जे लामा, सोही ठाउँका १९ वर्षीय तेन्जेन ह्योल्मो लामा र १९ वर्षकै सार्की ह्योल्मो छन्।
कात्तिक १८ गते राति केसाङको हत्या भएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली खटिइ घटनाको अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा केसाङ लक्ष्मी पूजाको दिन मिलेरेपा गुम्बा गएको र दिउँसो ४ बजे फर्किएको भन्ने खुलेको थियो। विभिन्न व्यक्तिसँगको सोधपुछको क्रममा कात्तिक १८ गते तीन जना केटाहरु बेलुका नाकुते जाने भन्दै बाटो सोध्दै हिँडेको तर ती व्यक्तिहरुलाई आफूलाई नचिनेको एक व्यक्तिले प्रहरीलाई बताएका थिए।
तीनै व्यक्तिले दिएको क्लुबाट अभियुक्तसम्म पुग्न सफल भएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए।
ती शंकास्पद व्यक्तिहरुको पहिचान गरी महानगरीय प्रहरी परिसर काठमाडौं, वृत्त बौद्ध र वृत्त थानकोटसमेतको सहयोगमा काठमाडौंबाट तीन जनालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए।
केसाङसँग पैसा रहेको भन्ने सूचना पाएपछि उनीहरुले काठमाडौं योजना बनाएर लुटपाट गर्न गएको अनुसन्धानबाट खुलेको छ। केसाङ साँझ गुम्बामा पूजापाठ गर्न गएको मौका पारी उनको घरमा रहेको करिब १५ लाख रुपैयाँ चोरी गर्ने योजना उनीहरुले बनाएका थिए।
केसाङ घरनजिक पुगेर एक घण्टासम्म कुरे पनि उनी गुम्बा नगएपछि चुरोट किन्ने बाहाना गरेर पसल गइ उनको हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन्। चुरोट किन्ने बाहाना बनाइ पसलमा गएर चिर्पटले हानी हत्या गरिएको पाइएको डीएसपी बस्नेतले बताए।
हत्यापश्चात् पसलमा भएको नगद र रिचार्ज कार्डसमेत उनीहरुले लगेका थिए। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँकासम्बन्धीको कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।
हाल पक्राउ परेकामध्ये सार्कीले पसलको बारेमा जानकारी दिइ सँगै बसेर योजना बनाउने काम गरेका थिए। योजनाअनुसार उक्त घटनास्थलमा पुगी पैसा राख्ने बक्सा लिइ भाग्ने तथा गाउँमै बसी त्यहाँ भइरहेको गतिविधिबारे जानकारी दिने उनको भूमिका थियो।
त्यस्तै तेञ्जेनले भने पूर्वयोजनाअनुसार उक्त घटनास्थलमा पुगी पसलमा कोही भए/नभएको हेर्ने, लामो समयसम्म पनि केसाङ गुम्बामा नगएपछि कुटपिट गरेर भए पनि चोरी गर्नुपर्ने भन्दै चिर्पट दाउरा बोकी हिर्काउने गरेको पाइएको छ। उनैले नगद, रिचार्ज कार्ड तथा चाँदीको फार्को लिएका थिए। उनीबाट ५३ हजार ६५० रुपैयाँ बरामद भएको थियो।
त्यसैगरी दावाबाट ९९ हजार ७४५, यार्सागुम्बा र बोधिचित्त, जीवजन्तुको नंग्रा बरामद भएको छ। उनको भूमिका भने पसलमा गएर चुरोट किन्ने भनी केसाङलाई उठाउने र ढोका खोल्दै गर्दा धकेलेर लडाउने रहेको पाइएको छ।
प्रतिक्रिया दिनुहोस