२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

४० हजारका लागि हत्या : हत्यापछि आँगनमै गाडेका थिए शव

  • २०७८ कार्तिक ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ८, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका ६३ वर्षीय नेत्रप्रसाद दाहालको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले काभ्रेको खानीखोला गाउँपालिका–७ का ३३ वर्षीय कृष्ण मगर र लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई सार्वजनिक गरेको हो।

    गत असोज २० गते अन्दाजी बिहान ७ बजेतिर स्थानीयले प्रहरीलाई दाहालको घरको आँगनमा गाडेको अवस्थामा मान्छेको खुट्टाको औंला देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

    त्यसपछि इलाका प्रहरी कार्यालय मेलम्ची र इलाका प्रहरी कार्यालय नवलपुरबाट इन्स्पेक्टरको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। पछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी दक्षकुमार बस्नेत र एसपी राजन अधिकारीको कमाण्डमा पनि टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

    केनाइन महाशाखाबाट तालिमप्राप्त कुकुरको झिकाएर पनि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। खुट्टाको औंला देखिएको अवस्थामा खनेर हेर्दा घरधनी दाहालको शव फेला परेको थियो। उक्त शव पोष्टमार्टमका लागि प्रहरीले काठमाडौं मेडिकल कजेल दुवाकोट भक्तपुर पठाएको थियो।

    त्यसपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा दाहालको घरमा घटना हुनभन्दा ३ दिन अघिमात्रै २ अपरिचित व्यक्ति आएको भन्ने सूचना फेला परेको थियो। मृतक दाहालले प्रयोग गर्ने मोबाइल प्रहरीले फेला नपारे पनि चालु अवस्थामै रहेको भने पाइएको थियो।

    शव झिक्दै प्रहरी

    सोही मोबाइललाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। सोही क्रममा मोबाइल सेटसहित कृष्ण मगरलाई प्रहरीले काभ्रेको खानीखोलाबाट पक्राउ गरेको थियो।

    मगर पक्राउ परेपछि उनीमाथिको सोधपुछ र उनले दिएको हुलियकाको आधारमा अर्का अभियुक्तको खोजी प्रहरीले सुरु गरेको थियो। सोही क्रममा असोज २८ गते काठमाडौं नारायणटारबाट तामाङलाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए।

    दाहालको हत्याको कारण आर्थिक रहेको खुलेको सिन्धुपाल्चोकका डीएसपी बस्नेतले जानकारी दिए। मेलम्चीमा आएको बाढीका कारण घर क्षति भएकाले दाहालले भत्काएर नयाँ बनाउने योजना बनाएका थिए। सोही अनुसार उनीहरुलाई ठेक्का दिने सहमति भएको थियो।

    असोज २० गतेबाट काम सुरु गर्ने र पेश्की बापतको ४० हजार रुपैयाँ दिने सहमति भएको अनुसन्धानबाट खुलेको छ। सोही ४० हजार रुपैयाँ काम नै नगरी लिने उद्देश्यले उनीहरुले दाहालको हत्या गरेको डीएसपी बस्नेतले जानकारी दिए।

    पेश्की बापतको रकम लुट्ने योजनासहित उनीहरुले असोज १९ गते राति नै कोदालाले टाउकामा हानेर दाहालको हत्या गरेको खुलेको छ। हत्यापछि दुवै जना मिलेर आँगनमै शव गाडेर फरार भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस