२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

भूकम्पको ६ वर्ष : ८ प्रतिशत जनताको टहरामै वास

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक ६, २०७८

    काठमाडौं :  १२ वैशाख २०७२ को भूकम्पले नेपालमा ठूलो धनजन क्षति भयो। सामुदायिक‚ सांस्कृतिक, निजी आवास, विद्यालय लगायतका भौतिक संरचना ध्वस्त भए।

    सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्‍यो। २०७२ मा ५ वर्षका लागि स्थापना भएको प्राधिकरणको एकपटक अवधि थपिएको थियो। प्राधिकरण स्थापना भएको ६ वर्ष बितिसक्दा पनि ८ प्रतिशत जनता अझै पनि टहरामा बस्न बाध्य छन्।  

    कुल ८ लाख ६६ हजार २ सय लाभग्राहीमध्ये ८ लाख २९ हजार ६ सय ६७ जनाले अनुदान सम्झौता गरेका थिए। जसमा ९९ प्रतिशत अर्थात् ८ लाख २८ हजार ६ सय ६३ जनाले पहिलो किस्ता लिएका छन्।

    त्यस्तै ७ लाख ५० हजार ४ सय ५९ जनाले दोस्रो किस्ता लिए भने ७ लाख ३ हजार ३ सयले तेस्रो किस्ता लिएका छन्। यसमा दोस्रो र तेस्रो किस्ता लिन बाँकी लाभग्राहीको संख्या ७८ हजार ३ सय रहेको छ भने ४७ हजार १ सय ५२ लाभग्राहीले तेस्रो किस्ता लिन बाँकी छ।

    प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माण सम्पन्न र काम भइरहेको निजी आवासको संख्या ७ लाख ५८ हजार ७ सय ९३ रहेको छ। यो भनेको ९१ प्रतिशत हो। अब निजी आवास पुनर्निर्माणको काम ८.५४ प्रतिशत बाँकी छ।

    निजी आवास पुनर्निर्माणमा विभिन्न कारण किस्ता लिन बाँकी रहेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समय दिएको छ। ९ पौषसम्म कार्यकाल रहेको प्राधिकरणले आफ्नो जिम्मेवारी सरकारलाई हस्तान्तरण गरिसकेको छ।

    एकातिर ६ वर्षसम्म कार्यभार सम्हालेको प्राधिकरणले पुनर्निर्माणको काम सम्पन्न हुन सकेको छैन भने अर्कातिर पुनर्निर्माणको अनुभव अन्तरराष्ट्रिय जगत्‌लाई देखाउन भन्दै अन्तरराष्ट्रिय सम्मेलनको तयारी गरिरहेको छ। 

    त्यस्तै ६ हजार ६ सय ४७ (८७.६६ प्रतिशत) विद्यालय भवन पुनर्निर्माण गरिएको छ। ७० वटा विश्वविद्यालय तथा आंगिक क्याम्पसका भवनमध्ये १० (१४.२८ प्रतिशत), १ हजार १६४ स्वास्थ्य संस्थामध्ये ७५१ (६४.५२ प्रतिशत) सम्पन्न भएका छन्।

    त्यसैगरी सुरक्षानिकायका भवन शतप्रतिशत सम्पन्न भइसकेका छन्। सरकारी भवन ९३.७२ प्रतिशत, पुरातात्विक सम्पदा ६३.७० प्रतिशत र गुम्बाको पुनर्निर्माण २८.७६ प्रतिशत सम्पन्न भएको छ।

    सडकतर्फको काम ८५ प्रतिशत, सडक पुलतर्फ ६० प्रतिशत र एकीकृत बस्ती विकास तथा सुधारतर्फ ५८.४९ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

    भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। उनले भने, ‘विभिन्न कारणले पुनर्निर्माणमा केही काम बाँकी छ। त्यसलाई ठूलो रूपमा नलिनु होला। जिम्मेवारी हस्तान्तरण गरे पनि पुनर्निर्माणको काम हुन्छ।’  

    २०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्प र त्यसकाे कम्पनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि २०७२ पुस १० गते प्राधिकरण स्थापना भएको थियो। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा ३ बमोजिम नेपाल सरकारले प्राधिकरणको समय अवधि एकपटक थप गरेको थियो।

    ‘पुनर्निर्माणका अधिकांश कार्य सम्पन्न हुने चरणमा छन्’‚ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘प्राधिकरणले हस्तान्तरण गरिसकेको छ, अब सम्बन्धित निकायले काम गर्नेछन् भने हामीले त्यसमा समन्वय र सहजीकरण गर्नेछौँ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस