असोज १०, २०७८
चौतारा : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरिएको छ । सिन्धुपाल्चोक मानेस्वारा घर भई भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ को फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने आदेश दिएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोले सल्लाघारीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले २०६८ कार्तिक २० मा १५ वर्षीया किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर दोलालघाटबाट लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बर कोठामा जबरजस्ती करणी गरेका थिए ।
बुधबार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाईएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस