असोज ८, २०७८
चौतारा : सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित गुम्बा गाउँमा खुकुरी हानाहान भएको छ। कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएएपछि अधिवेशन अनिश्चितकालको लागि स्थगित भएको हो।
कांग्रेसको अधिवेशन रोकिरहेको बेलामा युवाहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। खुकुरी प्रहारबाट पासलाल तामाङ गम्भीर घाइते भएकाले उनले बताए।
डिएसपी बस्नतेले भने, ‘घाइतेको हेलिकप्टरबाट उद्धार गरी ह्याम्समा पुर्याइसकेको छ। कांग्रेसकै अधिवेशनमा झडप भएको होइन। तर, अधिवेशन चाहिँ रोकिरहेको अवस्था थियो। थप हामी अनुसन्धार गरिरहेका छौँ। घटनाबारे बुझेपछि मात्रै सत्य कुरा बाहिर ल्याउछौँ।’
घटनास्थल टाढा भएकाले खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइनसकेको र के कसरी घटना भएको खुल्न नसकेको उनको भनाइ छ।
गाउँ/नगर अधिवेशन अनिश्चित
कांग्रेस सिन्धुपाल्चोकमा गत मंगलवारलाई वडा अधिवेशन तोकिएको थियो। १०३ वडा रहेको जिल्लामा तोकिएको मितिमा ९८ वटा वडामा अधिवेशन सकिएको थियो। बाँकी वडामा आज अधिवेशन तोकिएकोमा गुम्बा गाउँको वडा अधिवेशन भने रद्द भएको छ।
यसैगरी, भोलिका लागि तय गरिएको गाउँ नगर अधिवेशन रद्द भएको छ। जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले विज्ञप्ति जारी गर्दै भोलिका लागि तय गरिएको गाउँ/नगर अधिवेशन स्थगित भएको जनाएको छ।
जिल्ला निर्वाचन अधिकृत निरौलाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यस सिन्धुपाल्चोक जिल्लामा यही मिति २०७८ असोज ९ मा हुने भनिएको गाउँपालिका/नगरपालिका निर्वाचन प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको यसै सूचनामार्फत सम्बन्धित महानुभावहरुलाई अवगत गराउँदछु।’
कांग्रेसको आफ्नै दाबी
अधिवेशनको समय खुकुरी हानाहान भएपनि त्यसमा कांग्रेस कार्यकर्ताको सहभागीता नरहेको नेपाली कांग्रेस सिन्धुपाल्चोकको दाबी छ।
झडपमा संलग्न भएको व्यक्ति र कांग्रेस अधिवेशनबीच कुनै सम्बन्ध नरहेको जिल्ला सचिव बिलबहादुर तामाङ बताउँछन्।
भन्छन्, ‘ती व्यक्तिहरु कांग्रेसका कार्यकर्ता पनि हैनन् र अधिवेशनसँग उनीहरुको कुनै सम्बन्ध छैन।’
प्रतिक्रिया दिनुहोस