२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

मेलम्चीको मर्मत सुरु, चैतसम्म पानी ल्याउने लक्ष्य

  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित ३ साल अघि
  • असोज ६, २०७८

    चौतारा : बाढीले क्षति पुर्‍याएको तीन महिनापछि मेलम्ची खानेपानी आयोजना मर्मतको काम सुरु भएको छ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई आयोजनाको हेडवर्क्स (मुख्य बाँधस्थल) सम्म सडक खोल्ने काम सुरु भएको जनाएको हो।

    गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितका अनुसार एक साता अघिदेखि ग्यालथुमबाट आयोजनाको हेडवर्क्ससम्म पुग्ने सडकको काम भइरहेको छ।

    ‘गाउँपालिकाले बाटो खोलिदिने काम सुरु गरेको छ,स्काभेटरलगायत अन्य प्रविधि भएर निरन्तर काम भएमा १५ दिनसम्ममा बाटो बनाएर सकिन्छ,’उनले भनिन्।

    गत असारमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। पछि साउन १६ र १७ गते आएको बाढीले पनि आयोजनासम्म पुग्ने पुल नै बगाएको थियो। 

    बाटोकाे ट्रयाक खोल्न सेना परिचालन गरिने

    खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार सडकको ट्रयाक खुलेपछि प्राविधिक टोलीसहित पानीको सुरुङ र हेडवर्क्समा गएर अनुगमन गरिने छ। बाटो नबनाई जान भने सकिने छैन। बाटो बनिसकेपछि प्राविधिक लगेर आयोजना पुरिएको माटो फालिने छ। ढुंगा फुटाएर हटाइने छ।  

    ‘आयोजनाको मर्मत थालिएको छ,’ न्यौपानेले भने,‘अहिले उपभोक्ताले मात्र काम गरिरहेका छन्,नेपाली सेनालाई पनि काममा संलग्नता गराउने की भन्ने विषयमा छलफल गरिरहेका छौँ, केही दिनमा टुंगो हुन्छ।’ उनका अनुसार सेनालाई पनि काम गर्न दिएमा छिट्टै मोटरेबल बाटो खोल्ने काम सकिने छ।

    ​आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीका कारण खानेपानीको हेडवर्क्समा धेरै क्षति पुगेको छ। सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको उनको भनाई छ। बाढीले १ अर्ब रूपैयाँभन्दा बढीको आयोजनामा क्षति पुर्‍याएको उनको आंकलन छ। 

    मर्मतमा कति खर्च लाग्ला ?

    खानेपानी आयोजनाले बाढीबाट क्षति पुगेको संरचना मर्मत गर्न अढाई अर्ब खर्च लाग्ने अनुमान गरेको छ। सोही अनुसार आयोजनाले भदौ महिनामा खर्चको कार्ययोजना मन्त्रालयमा पेश गरेको थियो। 

    तर मन्त्रालयले हालसम्म खर्चबारे यकिन विवरण भन्न सकेको छैन। मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन,‘पानीको मुहान सम्म जानलाई पहिला बाटो बन्नुपर्छ,बाटो बनेपछि सबै प्राविधिक टोलीसहित जान्छौ, सबै निरीक्षण गरेर मात्र मर्मतमा यति खर्च लाग्छ भनेर भन्न सकिन्छ,अहिले चाहिँ केही भन्न सकिँदैन।’

    खानेपानी मन्त्रालय साढे २ महिनादेखि मन्त्रीविहीन भएका कारण पनि आयोजनाको कामका प्रक्रिया अघि बढाउन समस्या हुँदै आएकाे छ।

    चैत सम्म आउला मेलम्ची ?

    आगामी चैत वा वैशाखसम्ममा अस्थायी रुपमा भए पनि उपत्यकामा पानी ल्याउने सरकारको लक्ष्य छ। चैत सम्ममा पानी ल्याउने लक्ष्यका साथ अहिले मर्मतको काम भइरहेको मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए।

    ‘आयोजना मर्मतको काम भइरहेको छ, छिट्टै मर्मत गरी चैतसम्ममा अस्थायी रुपमा भएपनि पानी ल्याउने नीति छ,’उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस