असोज ६, २०७८
चौतारा : कांग्रेसको जिल्ला सभापतिको लागि आधा दर्जन आकांक्षी देखिएका छन्। सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिको आकांक्षी देखिएका हुन्।
सिन्धुपाल्चोकमा हालसम्म धेरैले आधा दर्जनले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्व सचिव कृष्णप्रसाद नयौपाने, पूर्व सभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामा सभापतिको आंकाक्षी छन्।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो १४ औँ महाधिवेशनमा सिन्धुपाल्चोकको जिल्ला सभापतिको लागि तयारी गरेका छन्।
मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेद्वारी दिने बताए । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता कार्यकर्ताको साथ रहेको बताए ।
उनले भने, ‘सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि तयार छु।’
सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै, हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गरिरहेका छन्। देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बनेका शेर्पा जिल्ला सभापतिको तयारीमा छन्।
केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको संगठननै धरापमा परेकोले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको उनको भनाइ छ।
केन्द्रमा सिन्धुपाल्चोकमा यसअघि पनि संस्थापन पक्ष र रामचन्द्र पौडले पक्षबीच विवाद हुुदै आइरहेको छ। कांग्रेस जिल्ला सभापति विकास लामा पौडेल पक्षका हुन्। भने, केन्द्रीय सदस्य मोहन बस्नेत संस्थापन पक्षका हुन्। सिन्धुपाल्चोकमा जिल्ला सभापति लामा र नेता बस्नेतबीच टकराब पर्ने गरेको छ।
वडा अधिवेशनमै माइन्युट च्याताच्यात
बलेफि गाउँपालिका ५ मा कांग्रेसको वडा अधिवेशनमा विवाद भएको छ। सहमति जुट्न नसकेपछि महिला संघको अध्यक्ष गीता नेपालले माइन्युट च्यातेकी छन् । उनी संस्थापनइतर पक्षकी हुन्।
आफुलाई हराउन भन्दै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले इकाई सभापति कृष्णभक्त नेपाललाई प्रयोग गरि विधान विपरीत कार्य गरेपछि निर्वाचनको माइन्युट च्यात्नुपरेको उनले बताइन्।
राजनीतिमा महिला सहभागिता कम रहेको समयमा सिन्धुपाल्चोकमा आज भएको कांग्रेस अधिवेशनमा धेरै ठाउँमा महिला प्रतिनिधिबीच निर्वाचन गराईएको थियो।
निर्वाचन गर्ने भए सबै पदमा गरौ नत्र महिलामा मात्रै किन भन्ने विवाद सुरु भएपछि माइन्युट च्याताच्यात भएको हो।
विधानत ५ बजे पछि निर्वाचन प्रक्रिया गर्न नमिल्ने व्यवस्था हुदाहुदै निर्वाचन अधिकृतलाई इकाई सभापतिले दबाव दिएपछि ५ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो ।
उक्त प्रक्रियाको अन्त्य नहुदै नेपालले माइन्युट च्यातेकी थिइन्। नेपालले माईन्युट च्यातेपछि उक्त वडामा ६ बजेपछि पुन मतदान गरिएको थियो।
उनले भनिन्, ‘म क्षेत्रीय प्रतिनिधि नआए केही हुन्न । यो मेरो लडाइँ विधि र प्रक्रिया मिच्नेविरुद्धको हो। कोही व्यक्ति बलियो हुन पार्टी कमजोर पार्न दिन्न।’
प्रतिक्रिया दिनुहोस