असोज ३, २०७८
चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका प्रतिबद्धताहरु व्यवहारमा रुपान्तरण गर्नु नै अहिलेको मुख्य कार्यभार भएको बताएका छन्।
संविधान दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले भनेका छन्, ‘वर्तमान संविधानमा परम्परागत अभ्यास भन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएका छन् । संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र प्रतिवद्धताहरुलाई व्यवहारमा रुपान्तरण गर्नु आजको मुख्य कार्यभार हो । संविधानवाद, संवैधानिक नैतिकता तथा लोकतन्त्र गतिशील अवधारणाहरु हुन् ।’
संविधान नेपाल आमाका महान् छोराछोरीहरुको अदम्य साहस र बलिदानको प्रतिफल भएको समेत उल्लेख गरेका छन्। संविधान दिवसको अवसरमा संविधान निर्माण प्रक्रियामा सामेल भएका सम्पूर्णको योगदानकोे स्मरण गर्दै सम्मान व्यक्त गरेका छन्।
सभामुखले भनेका छन्, ‘संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघि बढ्दा यसको कार्यान्वयनमा सहजता आउने कुरा स्वयम् सिद्ध छ । आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलहरुको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सम्बद्ध सबैसँग अपिल गर्दछु।’
लोकतान्त्रिक संस्थाहरुलाई क्रियाशील हुने वातावरण निर्माण गरी लोकतान्त्रिक मूल्य मान्यताहरुको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध बन्न समेत आग्रह गरेका छन्। संविधानलाई इमान र निष्ठापूर्वक पालना गर्दै कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिल्ने भन्ने विश्वास समेत लिएका छन्।
नेपालमा जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ६ बर्ष पूरा भएको छ। नेपाली जनताको कठीन संघर्षको परिणामका रुपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको थियो।
संविधान दिवसको अवसरमा जनयुद्ध, १९ दिने जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका संघर्षका क्रममा जीवन आहुति दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन्। घाइते, अपाङ्ग एवम् बेपत्ता पारिएका योद्धाहरुको बलिदानी भावको स्मरण समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस