भदौ २६, २०७८
चौतारा : भोटेकोसीको लेकाली गाउँ पुग्ने सबै कच्ची सडक बर्खाको भेलले बगाएकाले हिँडडुल गर्न कठिन छ ।
वृद्धवृद्धा र अशक्तलाई बोकेर स्वास्थ्यचौकी ल्याउन सक्ने अवस्था छैन । त्यसैले गाउँपालिकाले कोरोनाविरुद्धको खोप लगाउन अभियान नै तय गर्नुपर्यो ।
६० वर्ष कटेका वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त स्थानीयलाई भोटेकोसी गाउँपालिकाले घरघरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको नेतृत्वमा बनेको कोभिड-१९ खोप अभियानअन्तर्गत स्वास्थ्यकर्मी र जनप्रतिनिधि खोप लगाउन स्थानीयको घरआँगनमा पुगेका हुन् ।
वडा कार्यालयछेउमा रहेको स्वास्थ्य संस्थामा आइपुग्न छगाम, बगाम, भैरवकुण्ड, बोक्चेन, देउढुंगा, गोल्चीजस्ता दुर्गम बस्तीबाट हिँडेर आउन दिनभर लाग्छ ।
लिस्ती, तातोपानी, मार्मिङ र फुल्पिङकट्टीमा रहेका स्वास्थ्य संस्थाका कर्मचारीसहित जनप्रतिनिधिको टोलीले एक सातादेखि भोटेकोसीको पाँचै वडाको दुर्गम बस्तीमा पुगेर वृद्धवृद्धा र अशक्त स्थानीयलाई खोप लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस