खबरज्योति
१९ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
प्रतिनिधिसभा र प्रदेश सभाको चुनावले देशको राजनीतिक वातावरण गर्मिएको छ । आसन्न चुनावलाई लिएर दल र तिनका नेता तीव्र प्रचारप्रसारमा छन् ।
वरिष्ठदेखि कनिष्ठ नेतासम्म मतदातालाई फकाउन र लोभ्याउन व्यस्त देखिन्छन् । कतिपय पार्टीका प्रमुखहरू निर्वाचन क्षेत्रमा खटिएका छन् । केहि नेताहरुको भने यो पटक पनि जित हात नपारे राजनीतिक जीवन लगभग अन्त्य हुने लगभग पक्का छ । पुराना नेता मध्ये राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरा राजनीतिक जीवन कमजोर देखिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका पशुपति सम्शेर राणालाई यो पटकको चुनाव निक्कै कष्टकर देखिएको छ ।
राजपरिवारसँग काँधमा काँध मिलाएर महाराजगञ्ज वरपर बस्दै राजनीति गर्दै आएका राणाको सिन्धुपाल्चोक साइनो खोज्दै यतिबेला लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता भौतारिन थालेका छन् । पञ्चायतको निर्वाचनदेखि बहुदलीय व्यवस्थासम्म पाँच पटक क्षेत्र नम्बर ३ बाट चुनेर आएका राणाले राजतन्त्रको अन्त्यपछि भने हार ब्योहोर्दै आएका छन् । पहिलो संविधान सभामा माओवादीको दावा तामाङसँग र दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग उनले हार्नुर्पयो । दावा अहिले प्रदेशकाका लागि वाम गठबन्धनमा उम्मेदवार छन् भने शेरबहादुरले वाम गठबन्धनबाट राणासँगै उम्मेद्वारी दिएका छन् ।
२०७० को दोस्रो संविधानसभा चुनावमा पनि यी दुवै उम्मेद्वारबीच प्रतिस्पर्धा थियो । त्यतिबेला क्षेत्र नम्बर– ३ मा प्रतिस्पर्धा भएको थियो, जसमा तामाङले राणालाई २ हजार ५ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका थिए ।
यस क्षेत्रका स्थानीय तहमध्ये एमालेले २, कांग्रेसले २ र माओवादीले १ तहमा नेतृत्व गरिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्र नम्बर १ र २ दुवैतिर पर्छ । माओवादीले जितेको सो नगरपालिका बाहेकका अन्य स्थानीय तहमा एमालेले २० हजार ९ सयभन्दा बढी, कांग्रेसले १९ हजार ६ सय बढी र माओवादीले ९ हजार ७ सयभन्दा बढी मत पाएका थिए ।
राणाले वामपन्थी मतदाताको मत तान्न सके र लोकतान्त्रिक गठबन्धनको मत जोगाउन सके उनका निम्ति सुखद नतिजा आउन सक्छ । नभए, ०७० नदोहोरिएला भन्न सकिन्न ।
पैसाको आडमा राजनिती गर्दै आएका राणा लोकतन्त्रपछि पराजित हुँदै आएका छन् । नेपालकै धनाढ्यमा गनिने राणालाई जितेर जनतामा जानुपर्छ भन्ने कुनै ‘फिलिङ’ छैन ।
प्रतिक्रिया दिनुहोस