भदौ २२, २०७८
चौतारा : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको ५ दलीय गठबन्धनको सरकारप्रति कांग्रेस नेताहरु नै असन्तुष्ट भएका छन्। सरकारको पछिल्लो कदमप्रति नेताहरु प्रकाशमान सिंह र गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा कार्यक्रममा सम्बोधन गर्दै नेताहरु आफ्नै पार्टी सभापति नेतृत्वको सरकारको कदमप्रति आलोचना गरे।
कार्यक्रममा नेता सिंहले भने, ‘सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन मिल्दैन। स्वतन्त्रताको वकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता विषयमा सरकारले सोचेर मात्रै कदम चाल्नु पर्दछ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनको विषयमा गृहमन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिएर बढ्नुपर्ने आग्रह गरे। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उनको भनाइ छ।
‘सरकारले जनताको दुःखमा साथ दिनु पर्दछ। सधैँ जनताको पक्षमा हुनुपर्दछ। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनु पर्दछ’ उनले भने।
अहिले आफ्नो पार्टीको नेतृत्वमा सरकार भएकाले सिन्धुपाल्चोकलगायत देशका अधिकांशका भूभागमा बाढी पहिरोले जनधनको क्षति भएकाले सरकारले राहात र उद्धारमा विशेष ध्यान दिनुपर्ने बताए।
यस्तै, नेता थापाले पनि पार्टीका आन्तरिक समस्याहरूलाई हल गर्न सकेमात्र पनि आधा समस्या समाधान हुने बताए। सभापति देउवालाई लक्षित गर्दै पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने दाबी गरे।
नेता थापाले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो । पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यतिमात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ । खास गरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईँ हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।’
उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उत्तेजनामा ल्याउन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस