भदौ १७, २०७८
चौतारा : नेकपा एकीकृत समाजवादीमा जान चाहेका सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई नेकपा एमालेका नेता–कार्यकर्ताले रोक्न प्रयत्न गरेका छन् ।
गत मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा जान धेरै जनप्रतिनिधिलाई रोकिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् ।
उनले भनिन्, ‘निर्वाचन आयोगमा गई सनाखत गर्नुअघि काठमाडौंमा उपलब्ध जनप्रतिनिधिको भेला राखेका थियौं, तर कतिपयलाई रोक्ने प्रयत्न भयो, धरपकड भयो’
मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा एकीकृत समाजवादीका नेता विजय पौडेललाई पनि बोलाइएको थियो । तर जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा जानबाट रोक्न डरत्रास र धम्की दिने काम भइरहेको उपप्रमुख नेपलले बताइन् ।
‘एक जना वडाध्यक्षको त घरमै मान्छे पठाएर भेलामा आउन नदिएको सुनेको छु’ उनले भनिन् ।
नेकपा एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादी रोज्न स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।
हालसम्म सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उपप्रमुख नेपाल र चौतारा साँगाचोकगढी–१० का अध्यक्ष बेलबहादुर महत गरी दुई जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
‘आज एक/दुई जना जानुहुन्छ होला। हामीले अहिले धेरै आशा गरेका छैनौं’ उपमेयर नेपालले भनिन्।
प्रतिक्रिया दिनुहोस