भदाै १६, २०७८
चाैतारा : सभामुख विरुद्धको मुद्धा ‘हेर्न नमिल्ने’ भएकाे छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने भएको हो।
माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ साल जेठ १३ मुद्दा परेको थियो। उक्त मुद्दासहित सापकोटाविरुद्धका तीन थान मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको थियो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको बेन्चमा सापकोटाविरुद्धको मुद्धा पहिलो नम्बरमा थियो।
२०७२ चैत २२ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन वटा मुद्दा छन्।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। यो रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।
२०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस