भदौ १६, २०७८
चौतारा : नेकपा एमालेबाट विभाजित भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सिन्धुपाल्चोकका नेताहरू खुल्न थालेका छन्। मंगलबार काठमाडौं आयोजित उपलव्ध भेलामा नेता तथा कार्यकर्ताहरू समाजवादीमा खुलेका हुन्।
सिन्धुपाल्चोकबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्मा यसअघि नै सो पार्टीमा खुलिसकेका छन्। विश्वकर्माले नेकपा एकीकृत समाजवादी दर्ता गर्दा नै सनाखत गरेका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशले पार्टी विभाजन भएपछि दल रोज्न पाउने अधिकार सुरक्षित गरेकाले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू खुल्न थालेका हुन्।
बागमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरूङले पनि समाजवादी दल रोज्दै सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय गएकी छन्। यससँगै सिन्धुपाल्चोकबाट राष्ट्रिय सभा र प्रदेश सभामासमेत प्रतिनिधित्व हुने भएको छ।
तत्कालीन नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल आजैबाट समाजवादीमा खुलेकी छिन्। नगर प्रमुख डम्बर अर्यालले हालसम्म मौन भए पनि समाजवादीमा खुल्ने नेताहरूको भनाइ छ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका-१० का वडाध्यक्ष बेलबहादुर महतसमेत नेकपा समाजवादीमा खुलेका छन्। स्थानीय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिका नेकपा एमालेको तर्फबाट मेयरका प्रत्यासी बनेका सोम सापकोटा पनि समाजवादी पार्टीमा लागेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी कार्य गरेको भन्दै उनी माधव समूहमा आएका थिए। उनी नेकपा एमालेको बागमती प्रदेश कमिटीमा रहेका थिए। उनीसँगै प्रदेश कमिटीकै गम्भिरलाल श्रेष्ठसमेत समाजवादी दलसँग आवद्ध भएका छन्।
नेकपा एमालेकै राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य रहेका नवराज पौडेलसमेत समाजवादीमा आवद्ध भएका छन्। जिल्लामा यसअघि अधिकांश जनप्रतिनिधि माधव नेपाल समूहमा रहेका भएपनि औपचारिक रूपमै दल विभाजन भएपछि भने सबैजसो जनप्रतिनिधिहरू हाल मौन बसेका छन्।
निर्वाचन आयोगले दल रोज्नेको लागि भदौ २२ सम्मको समय दिएको छ। सो समयसम्म उनीहरूसमेत समाजवादीमै खुल्ने तयारीमा रहेको बुझिएको छ। नेता नेपाल बलियो रहेका सिन्धुपाल्चोकमा नयाँ पार्टी दर्ता गरेर अघि बढेपछि अधिकांश नेताहरू मौन छन्। भदौ २२ गतेसम्मको समय दिएकाले अझै आफ्नो पक्षमा नेताहरू आउने उनीहरूको दाबी छ।
प्रतिक्रिया दिनुहोस