२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चुनावी कार्यक्रम तीव्र, गाउँ–नगरमा उम्मेदवार

Thumbnail
  • २०७४ कार्तिक १९, आईतबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १९ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ–गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् ।

    मौसम चिसिने क्रम बढेको भएपनि सिन्धुपाल्चोकको चुनावी सरगर्मी भने निक्कै तातेको छ । राष्ट्रिय राजनीतिमा आफ्नो पहुँच बनाएका नेताहरु यो जिल्लाबाट चुनावी मैदानमा होमिएका कारण पनि चुनावी सरगर्मी तातेको हो । उम्मेदवारहरु सभा समम्मेलनसँगै घरदैलो अभियानमा पनि जुटेका छन् । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ ।

    वाम गठबन्धनका उम्मेदवार जिल्लाको सबै क्षेत्रका गाउँबस्तीमा सभा गरिरहेका छन् । ‘हामी घरदैलोमा नै गएर लोकतन्त्रलाई रक्षा गर्न मतदाताहरुसँग अनुरोध गरिरहेका छौं’, प्रतिनिधिसभा– १ का वाम उम्मेदवार पूर्व मन्त्री अग्नी सापकोटाले भने– ‘जनताको सच्चा रक्षक वाम गठबन्धननै भएको कुरा प्रष्ट्याउन र जनताको सुख दुःखसँग सक्षतकार हुन तिब्र रुपमा लागिरहेका छौं ।’
    आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट र किसान मतदातासँग गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रममा व्यस्त रहेको प्रतिनिधिसभा– १ को प्रदेश २ का वाम उम्मेदवार सरेश नेपालले बताए ।

    लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पनि जिल्लाभर दिउँसो सभा र बेलुका कार्यकर्ता भेटघाटमा व्यस्त भएको प्रतिनिधिसभा– १ का उम्मेदवार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

    लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुबैले भूकम्प पीडितलाई २ वर्ष भित्रमा सुविभायुक्त आवासमा बस्न पाउने वातावरणको सिर्जना गर्ने, तातोपानी नाका सञ्चालन, कृषि व्यावसायिक क्षेत्र, पर्यटनको पूर्वाधार विकास र आम्दानी बढाउने योजना, सडक योजनाको निर्माण लगायतका विषयलाई चुनावी नारा बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

    प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेश सभामा– ४ निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्दा देखिन्छ । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने वाम गठबन्धनको मत अग्रस्थानमा छ । तर पनि दुई गठबन्धनबीच कडा प्रतिस्पर्दा हुने विश्लेषकहरु बताउँछन् ।

    चारवटा प्रदेशसभा रहेको यस जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा १ मा २८ हजार छ सय ८७ महिला र ३० हजार एक सय ७७ पुरुष गरी ५८ हजार आठ सय ६४ मतदाता छन् । यो प्रदेशमा भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिका र बाह्रविसे नगरपालिका समेटिएका छन् । जुगल, बलेफी, सुनकोसी गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नम्बर वडा समेटिएका प्रदेशसभा २ मा महिला २७ हजार ५३ र पुरुष २८ हजार चार सय छ गरी ५५ हजार चार सय ५९ मतदाता छन् ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री अग्नी सापकोटा र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका नेता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी मैदानमा छन् । प्रदेश सभा १ मा वाम गठबन्धनको तर्फबाट अरुण नेपाल र लोकतान्त्रिक गठबन्धनको तर्फबाट विष्णु खत्री उम्मेद्वार छन् । प्रदेश सभा २ मा वाम गठबन्धनको तर्फबाट सरेश नेपाल र लोकतान्त्रिक गठबन्धनको तर्फबाट राजेन्द्र कुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा १ मा मतदाता संख्या ५३ हजार सात सय ४८ छ । चौतारा–साँगाचोकगढी नगरपालिकाका बाँकी नौ वटा वडा, मेलम्ची नगरपालिकाका ९, १० र १३ नम्बर वडा र इन्द्रावती गाउँपालिका समेटिएको यो प्रदेशसभामा २६ हजार छ सय ४४ महिला र २७ हजार ४ पुरुष मतदाता छन् । प्रदेश २ मा २७ हजार सात सय ७६ महिला र ३० हजार छ सय ६८ पुरुष गरी ५८ हजार चार सय ४४ मतदाता छन् । यो प्रदेशसभामा मेलम्ची नगरका बाँकी १० वटा वडा, हेलम्बु र पाँचपोखरी–थाङपाल गाउँपालिका समेटिएका छन् ।

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको तर्फबाट एमाले नेता शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा चुनावी मैदानमा छन् । प्रदेश सभा १ मा वाम गठबन्धनको तर्फबाट युवराज दुलाल र लोकतान्त्रिक गठबन्धनको तर्फबाट विकास तामाङ उम्मेद्वार छन् । त्यस्तै प्रदेश सभा २ मा वाम गठबन्धनको तर्फबाट दावा तामाङ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट निमा लामा चुनावी मैदानमा छन् ।

    प्रदेश सभामा वामगठबन्धनमा नेकपा एमाले र माओवादी केन्द्रले दुई/दुई क्षेत्र भागबण्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेसले ३ क्षेत्र लिएको छ भने १ क्षेत्र राप्रपालाई छाडेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस