भदौ १५, २०७८
चौतारा : कांग्रेसले अब तीन दिनपछि वडा अधिवेशन गर्ने मिति तोकेको छ । नेताहरु अहिले पनि देशैभरि एकैसाथ वडा अधिवेशन गर्ने तयारी भएको बताइरहेका छन् । तर, अझैपनि २० जिल्लामा क्रियाशील सदस्यको टुंगो लागेको छैन ।
कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर टुंगो लगाएकासहित अन्य राजनीतिक दलबाट पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुको सदस्यताको विषय टुंगिएको छैन ।
कांग्रेसले सोमबार साँझसम्म ५७ जिल्लाका क्रियाशील सदस्यको सूची तयार गरेको छ । ‘आजसम्म ५७ जिल्लाका सदस्यको सूची तयार भयो । त्यो निर्वाचन समितिलाई हस्तान्तरण भइसकेको छ, अब उसले सार्वजनिक गर्छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने । बाँकी २० जिल्लाको सदस्यता टुंग्याउने विषयमा पनि काम भइरहेको उनले बताए ।
‘प्रदेश २ का सबै जिल्लाको सदस्यता टुंगिएको छैन । सिन्धुपाल्चोक, रसुवा, काभ्रपलाञ्चोक लगायत जिल्लाको पनि काम बाँकी छ,’ नेता पौडेलले भने ।
सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति विकास लामाको सधैं टकराव पर्ने गरेको छ। दुई नेताबीचको विवादले अझै क्रियाशिल सदस्यता विवाद समाधान हुन सकेको छैन। नेता बस्नेत संस्थापन पक्षका हुन्। भने, लामा पौडेल पक्षका हुन्।
सदस्यताको टुंगो नलागेका जिल्लामा १८ भदौमै वडा अधिवेशन हुने कि नहुने ? भन्ने अन्योल बढेको छ । नेता पौडेल भने सदस्यता टुंगो नलागेका जिल्लामा अर्को दिन अधिवेशन गर्ने गरी सदस्यताको टुंगो लागेका जिल्लाहरुमा १८ भदौमै अधिवेशन हुने बताउँछन् ।
केन्द्रीय निर्वाचन समितिले भने अहिलेसम्म ५३ जिल्लाको मात्रै सदस्यता प्राप्त भएको जनाएको छ । समितिले सोमबारसम्म ५३ वटै जिल्लामा निर्वाचन सामाग्रीहरुसहित जिल्ला निर्वाचन अधिकृतहरु पठाएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
‘हामीलाई अहिलेसम्म प्राप्त भएको सदस्यताको सूची ५३ जिल्लाको हो । हामीले ती सबै जिल्लाको सदस्यताको सूची वेबसाइटमा पनि सार्वजनिक गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘ती जिल्लामा हामीले निर्वाचन अधिकृतहरु पनि खटाइसकेका छौँ ।’
उनले ७७ वटै जिल्लाका लागि निर्वाचन सामाग्रीहरुको प्याकिङ गरी तयारी अवस्थामा राखिएको र सदस्यताको टुंगो लाग्ने बित्तिकै बाँकी जिल्लामा पनि निर्वाचन अधिृकतहरु खटाइने जानकारी दिए ।
क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । त्यसबाहेक सिटौला नेतृत्वको कार्यदलले सहमति गरे बमोजिम कति जना सदस्य थपिएका छन् भन्ने यकिन भएको छैन ।
प्रतिक्रिया दिनुहोस