भदौ ९, २०७८
चौतारा : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ३, कालिकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइतेको संख्या ४१ पुगेको छ । गाडीमा च्यापिएको अवस्थामा उद्दार गरिएको दुइ जनाको पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर जिल्ला ठुलोदुर्लुङका करिब ४५ वर्षका राजन बराम रहेका छन् । अर्का अन्दाजी २२ वर्षका पुरुषको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
घाइतेमध्ये १८ जनाको सिन्धु सदावहार अस्पताल खाडीचौरमा, १ जनाको मध्यपुर अस्पताल भक्तपुरमा र २२ जनाको धुलीखेल अस्पताल काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ । सबै घाइतेहरुको अवस्था खतरामुक्त रहेको बस्नेतले बताए । गाडीमा च्यापीएको अवस्थामा उद्दार गरिएका दुइजना पुरुषको भने अवस्था नाजुक रहेकोमा उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल पु¥याएपछि मृत्यु भएको हो ।
बुधबार लिसंखुपाखर गाँउपालिकाको वाफलबाट काठमाण्डौको लागि छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस विहान करिब साँढे ११ बजे दुर्घटना भएको हो । बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
बसको चालक तथा सहचालकको पहिचान नभइसकेकोले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस