भदौ ९, २०७८
चौतारा : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ३, कालिकाको छाप भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३० पुगेको छ। घाइतेमध्ये गाडीमा च्यापिएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये १५ जनाको सिन्धु सदावहार अस्पताल, खाडीचौरमा र २० जनाको धुलीखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। खाडीचौरमा रहेका घाइतेहरुको अवस्था सामान्य रहेको र धुलिखेलमा रहेका २० जनाको अवस्था पनि खतरामुक्त रहेको उनले बताए।
गाडीमा च्यापिएर बसेका दुईजना पुरुषको भने अवस्था नाजुक रहेको उनीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिरहेको उनले बताए। बुधबार सुनकोशी गाँउपालीकाको ठोकर्पाबाट काठमाण्डौको लागि छुटेको कोशी पारी यातायातको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो ।
बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० मिटर तल खसेको थियो। बसको चालक तथा सहचालकको पहिचान नभइसकेकोले दुर्घटना के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस