भदौ १, २०७८
चौतारा : गत असार १ र १६ गते राति मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचनाहरूको संरक्षण तथा पुनर्निर्माण कार्य अघि बढ्ने क्रममा रहेका छन् ।
यस क्रममा हेलम्बु गाउँपालिका ४ र मेलम्ची नगरपालिका ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ ।
गत असार १ गतेकै बाढीले क्षति पुर्याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु गाउँपालिका ४ बाट रकम निकासा गरिने वडा अध्यक्ष राजकुमार लामिछानेले बताए।
तत्कालका लागि प्राविधिक टोलीसहित पुलको अवस्था निरीक्षण गरी १७ थान जाली उपलब्ध गराइएको र कामदार खटाइसकेको उनको भनाइ छ।
पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले तत्काललाई सिमेन्टको प्रयोग गर्न नसकिने भएकाले जाली भर्ने कार्य भइरहेको र कार्य सम्पन्न भएपछि वडाले लागत रकम निकासा बताए।
उक्त झोलुङ्गे पुल भएर हेलम्बु ४ सहित हेलम्बु ३ र मेलम्ची नगरपालिका ६ र ७ का स्थानीय दैनिक आवतजावत गर्ने गर्दछन् । यस क्रममा मेलम्ची नगरपालिका ६ मा रहेको तेर्से माविले पुल संरक्षणका लागि ४ बोरा सिमेन्ट सहयोग गरेको छ ।
हेलम्बु ३ र मेलम्ची ७ बाट आफ्ना विद्यार्थीहरू सोही पुल भएर विद्यालय आउने भएकाले स्वयं बाढीबाट क्षति व्यहोरेका विद्यालयले आफ्नो तर्फबाट तत्काललाई सिमेन्ट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद ढुङ्गाना बताउँछन् ।
मेलम्ची ११ फट्टे मा रहेको पक्की पुल बाढीले बगाएको र झोलुङ्गे पुलबाट पनि दुई पाङ्ग्रे सवारीलाई रोक लगाएपछि साबिकभन्दा बढी यही झोलुङ्गे पुल हुँदै दैनिक दुई पाङ्ग्रे सवारी साधन आवतजावत गर्न थालेपछि जोखिम बढेकोमा चिन्तित रहेको र अहिले यसको संरक्षण कार्य अघि बढेकाले ढुक्क हुने अवस्था बनेको मेलम्ची ७ का स्थानीय चक्रबहादुर तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस