२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

हेलम्बु क्षेत्रको ‘लाइफलाइन’ : चनौटेमा रातोपुलको सट्टा तुइन !

  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • साउन २८, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु जोड्ने एक मात्र विकल्पको रुपमा रहेको चनौटेको रातोपुल बाढीले बगाएपछि सो स्थानमा तुइन हालिने भएको छ । साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले पुल बगाएको स्थानमा सिन्धु इन्जिनियरिङ समाजले तुइन हाल्ने भएको हो ।

    असार १ गतेबाट हेलम्बुको भ्रेमाथाङबाट आएको लेदो सहितको बाढीले साउन १७ गते चनौटेस्थित रातो पुल बगाएपछि हेलम्बु क्षेत्रमा आवागमन ठप्प हुँदै आएको थियो । मेलम्ची हेलम्बु जोड्ने मुख्य पुल नै बगाए पछि समाजले आवागमन सुचारु गर्न तुइन निर्माण गर्न लागेको हो ।

    पुल बगेपछि हेलम्बु जोड्ने पैदल मार्ग समेत नभएको हुँदा आफूहरूले तत्काल तुइन हाल्न लागेको समाजका अध्यक्ष ई. सञ्जय सापकोटाले बताए । ‘तत्कालका लागि हामी मानिसले नै तान्नुपर्ने तुइन हाल्नको लागि प्रारम्भीक सर्वेक्षण तथा डिजाइन समेत गरिसकेका छौं ।’ अध्यक्ष सापकोटाले भने, ‘एक सय २३ मिटर लामो उक्त तुइन केही समयपछि भने स्वचालीत बनाउनेछौं ।’

    समाजका सदस्य सन्देश श्रेष्ठका अनुसार तुइन एक हप्ताभित्र जडान हुने छ । त्यसको लागि आवश्यक सामग्री जुटाउने काम भइरहेको र सामग्री पुरा हुनासाथ जडान गरीने श्रेष्ठले बताए ।

    गत साउन १७ गते मेलम्ची नदीमा फेरि आएको बाढीले चनौटेस्थित रातो पुल बगाएपछि हेलम्बु गाउँपालिकाका ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ र मेलम्ची नगरपालिकाको २ वटा वडाका बासिन्दाहरू प्रभावित हुँदै आइरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस