साउन २१, २०७८
चौतारा : सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाय अपनाएर बिजुली पुर्याउन पहल थालेको छ ।
पछिल्लोपटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुईवटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी हुन् ।
उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डे र ग्रिड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाएकी थिइन् ।
मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०–५० वटा पोल बगाएको छ ।
हाल मेलम्ची नगर र इन्द्रावती गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा बिजुली पुर्याउन सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस