चाैतारा । अवैध रूपमा अमेरिका छिरेका एक नेपालीको अमेरिकास्थित अध्यागमन हिरासतमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको मृत्यु भएको हो ।
संगठित मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका उनको अध्यागमन हिरासतमै छँदा गत सोमबार दिउँसो मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले पुष्टि गरेको छ । उनकाे मृत्युकाे स्पष्ट कारण भने खुलेकाे छैन ।
काठमाडौंस्थित रञ्जना कम्प्लेक्समा पसल चलाएका उनी भूकम्प र कोरोना महामारीसँगैको आर्थिक मन्दीले व्यापार सुस्ताएपछि अमेरिका लागेका थिए । उनले स्वदेशी र विदेशी एजेन्टहरूलाई झन्डै ८० लाख रुपैयाँ बुझाएको बताइन्छ ।
अवैध मार्ग हुँदै अमेरिका छिरेपछि सुवासलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएर टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेको थियो । हिरासतमै छँदा सुवासलाई नेपाल डिपोर्ट गर्ने तयारी भइरहेकै बेला मृत्यु भएको हो । छोराको हिरासतमै मृत्यु भएको खबरले वडा ६ का अध्यक्षसमेत रहेका कुलबहादुर श्रेष्ठ र उनकाे परिवार शोकमा डुबेकाे छ ।
प्रतिक्रिया दिनुहोस