टाढा छ सपनाको संसार
पुग्नुछ जसोतसो
नभनेर हिउँद ,वर्खा
रोप्नुछ ज्ञानको बिज
मैलो छ आवरण
बाहुलामा सिंगानका टाटाहरु
पानी ,वर्षा ,हिलोका छिटाहरु
भलै स्निग्ध भविष्य जुर्मुराइरहेका हुन्छन्
कलिला आँखाका साना नानीहरुमा !
पेटको भोकले रिंगटा चलाउँदा पनि
मैला पोशाकले गिज्याउँदा पनि
कापी कलम किन्न नसक्ने
अभिभावकको निरिहतामा पनि
शिक्षाको प्रकाशमा रुझ्न
भरोसाको पखेटा फिजाउँदै
विश्वासको मझेरी
सम्झेर आइपुग्छन्
स्वप्न मन्जरीहरु !
अभावको झुपडीमा
तनावको आँधी सहेर
निलडाम लिएर आउने
नाङ्गा पैतालाहरु देखेर
विह्वल बनाउँछ मन
शिक्षक हुनु भनेको अक्षर चिनाउनु मात्रै कहाँ रहेछ र ?
सबैभन्दा बढि चञ्चलता हराएका गम्भीर आँखाहरु पढ्नुपर्छ !
बिर्सिएर पिडाहरु
सहेर अभावहरु
खितखिताउन सक्ने
मुस्कुराउन सक्ने तागत देख्दा लाग्छ
म ढुंगा कुँदेर बनाइरहेछु सुन्दर मुर्ति !
कन्दरामा फुलेका मोहक फूल जस्तै
अप्ठ्यारोमा फक्रेका सुनाखरी जस्तै
प्रिय छन् मलाई
मेरो गाउँका जिवन्त
फूलहरु ,
आवाजका शंख यिनै हुन्
जो सदाचारको विगुल फुक्छन्
लगनका हंस यिनै हुन्
जो भावि पुस्ताका खम्बा हुन् ।
प्रतिक्रिया दिनुहोस