मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ। बुधवारदेखिको अविरल वर्षाका कारण हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो।
बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको वडाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको अध्यक्ष तामाङले जानकारी दिए।
उनका अनुसार विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ। ‘विद्यालयको चौरसम्म पानी आइसकेको छ,’ उनले भने।
बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको पनि वडाध्यक्ष तामाङले बताएका छन्। ‘नदी बजारको घरहरू नजिकै पुगिसक्यो, यसरी नै बहाब बढ्यो भने वस्तीमा बाढी छिर्छ,’ उनले भने।
मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ।
पछिल्लो २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भइरहेको छ। अहिले पनि एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुन: बाढीले कटान गरेको हो।
प्रतिक्रिया दिनुहोस