२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

ठेकेदारको आन्दोलनलाई माओवादी सांसद सापकाेटाको समर्थन

  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • चाैतारा । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा ‘सुवोध’ले निर्माण व्यवसायीको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको पुर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले निर्माण व्यवसायीको आन्दोलनप्रति समर्थन जनाएका हुन् ।

    ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको भन्दै उनले ठेकेदारको माग सम्बोधन गर्नुपर्ने बताए ।

    केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको भन्दै उनले उक्त आन्दोलनमा आफैं सहभागी हुने पनि बताए ।

    “निर्माण व्यवसायीहरू अहिले पनि हड्तालमा हुनुहुन्छ, प्रधानमन्त्री निवासअगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५÷६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेन्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ । केही दिनपछि त अरनिको राजमार्ग समेत ठप्प पार्ने गरी चुनौतीहरू आएका छन्,” उनले भने, “आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ । चालु रहेका प्रोजेक्टहरूकै पेमेन्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो त कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको संघारमा छौँ, यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने, एकै ठाउँमा अर्बौँ रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।”

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस