२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

साउने सोमबारको व्रत किन सुरु भयो असारबाटै ?

  • २०८० अषाढ २५, सोमबार मा प्रकाशित १ साल अघि
  • असार २५, २०८०

    चौतारा । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

    चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

    समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।

    धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

    पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

    चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

    चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस