२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्चीको पानी बाँड्ने नयाँ पाइपमध्ये आधाको परीक्षण सकियो

  • २०७९ चैत्र २२, बुधबार मा प्रकाशित १ साल अघि
  • चैत २२, २०७९

    चाैतारा । मेलम्ची खानेपानी वितरणका लागि बिच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीको परीक्षण सकिएको छ।

    कूल १ हजार १० किलोमिटर पाइपमध्ये हालसम्म ५ सय ७६ किलोमिटर पाइपको परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    आगामी असार मसान्तसम्ममा सबै परीक्षण सक्ने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए। ‘काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ,’ उनले भने, ‘विष्णुमतीबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षेत्रमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ।’

    उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ।

    स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप बिच्छ्याउनै बाँकी छ। गत महिनामा काठमाडौँ उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या विस्तारै कम भएको कार्यालयको दावी छ।

    परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए। चक्रपथभित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप बिच्छ्याउन शुरु गरिएको थियो।

    हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्याङ्की सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ। जसमध्ये केही ट्याङ्की सञ्चालनमा आइसकेका छन्। नयाँ पाइप प्रयोग भएपछि सबै ट्याङ्की सञ्चालनमा आउने उनको भनाइ छ।

    हाल कार्यालयले घर–घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ। १ हजार ५ सयदेखि १ हजार ६ सय घरलाई एउटा क्षेत्र बनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस