माघ २०, २०७९
चौतारा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोक पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक प्रचण्ड सिन्धुुपाल्चोक पुगेका हुन्।
प्रधानमन्त्री जुगल गाउँपालिकास्थित श्री रत्न राज्य माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्न पुगेका हुन्।
उनल चीन सरकारको सहयोगमा निर्मित आवसीय सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन समेत गरेका छन्।
उद्घाटनमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक संघीय क्षेत्र नं. १ का सांसद माधव सापकोटा, २ का सांसद मोहनबहादुर बस्नेत, बागमती प्रदेश सांसद सरल सहयात्री पौडेल, समिर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाल लगायत थिए।
पूर्वसभामुख सापकोटाको पहलमा जुगल गाउँपालिका–५ चनौटेस्थित निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन्। एकै विद्यालयमा ६ वटा आधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको विद्यालय प्रशासनले जनाएको छ।
भवन निर्माणमा आवश्यक पर्ने बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो। निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए । सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सम्पन्न भएको हो। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्।
नेपालका लागि चीनका राजदूत होउ यान्छी हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। तर समय नमिल्दा तीन वर्षपछि प्रधानमन्त्रीबाट उद्घाटन भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए।
प्रतिक्रिया दिनुहोस