असोज १२, २०७९
चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले सबै नेपालीहरु मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन देशको भविष्य निर्धारणको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका हुन्।
‘हामी सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ। यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ। यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो’ उनले भने, ‘यो पालि अरूबेला जस्तो होइन, फेरबदल गर्ने हो। धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धी गरेको थिएँ। यत्तिका वर्ष त्यो थन्कियो। यो पाला त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ।
उनले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताए। मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिबद्धता जनाए।
उनले भने, ‘हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ। अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछौँ। यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन। अब यो मुलुकलाई उज्यालो दिनुपर्छ।’
उनले देशलाई अब राप्रपाले अपार उन्नतिको बाटोमा लैजाने दाबी गरे। उनले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस